होमपेज / समाज
चन्द्रा कंडेल, सुर्खेत । रेडियोको लामो इतिहास बोकेको रेडियो नेपालको प्रबद्र्धन गर्नका लागि प्रदेश सरकारको सहयोग रहने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले आयोजना गरेको तीन दिने ‘समावेशी प्रसार उत्पादन तथा प्रसारण सम्बन्धी’ तालिमको उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो ।
भण्डारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै मौलिकतालाई सुदृढ गरी जनताको मन मष्तिष्कमा स्थापित हुन खरो रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । रेडियो नेपालले नेपालीको गौरवलाई विश्वसामू चिनाउने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँको जोड दिनु भयो ।

तालिममा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशका रेडियो नेपालका संवाददाता, प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेकोे छ ।
२००७ साल चैत्र २० गतेबाट औपचारिक रुपमा सुरु भएको रेडियो नेपालले हालसम्म २१ भाषामा समाचार तथा विभिन्न भाषामा कार्यक्रम प्रसारण गरिरहेको समाचार प्रमुख पवन प्याकुरेलले बताउनु भयो । उहाँले तीन दिने तालिमले समावेशी पत्रकरिताको अवधारणागत र व्यवहारिक ज्ञान दिनमा सहजीकरण गर्ने बताउनुभयो ।