ट्रेण्डिङ

होमपेज / राजनीति

२०० भन्दा धेरै पालिकामा कांग्रेस नेतृत्व

नेपालगाथा २०७९ जेठ ४ गते बुधबार १३:२२:४८ मा प्रकाशित

सुर्खेत । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो समय आएका मत परिणामअनुसार नेपाली कांग्रेसले २ सय भन्दा धेरै पालिकाको नेतृत्व पाएको छ । 

देशभरका ७५३ स्थानीय तहमध्ये २ सय २ पालिकामा कांग्रेसको जित भइसकेको हो । 

कांग्रेसले अहिले गणना भइरहेका १ सय ९२ पालिकामा अग्रता लिइरहेको छ । 

यी सबै पालिकामा कांग्रेसले जितेको खण्डमा ३ सय ९४ पालिकामा जित हासिल गर्नेछ । यो ५२ प्रतिशतभन्दा केही बढी हो । 

यसलाई आधार बनाउँदा कांग्रेस यो स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्ने निश्चित भएको छ । 

कांग्रेसलाई अहिले नेकपा एमालेले पछ्याइरहेको छ । एमालेबाट १ सय २६ जनाले पालिका प्रमुखमा जित दर्ज गरिसकेका छन् । त्यस्तै, गणना भएका ७४ पालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यी दुवै जोड्ने हो भने एमालेले २ सय पालिकामा नेतृत्व पाउने छ ।

तेस्रो दलको रुपमा नेकपा माओवादी केन्द्र देखिएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म ८७ पालिकामा जित हासिल गरिसकेको छ । उसले ३० स्थानमा अग्रता कायम राखेको छ । यी सबै ठाउँमा जित निकालेको खण्डमा उसको पोल्टामा ११७ स्थानीय तहको नेतृत्व जाने देखिन्छ । 

सत्तारुढ गठबन्धनका अरु दुई दल नेकपा एकीकृत समाजवादी र जसपा तुलनात्मक रुपमा कमजोर देखिएका छन् । अहिलेसम्म भएको गणनामा जसपा नेपालले ५ स्थानमा जित निलेको छ भने २७ स्थानमा उसले अग्रता लिएको छ । 

नेकपा एकीकृत समाजवादीले भने ७ पालिकामा नेतृत्व पाएको छ । अब उसले १३ स्थानमा अग्रता लिएको छ ।

उपप्रमुखको सन्दर्भमा पनि नेपाली कांग्रेस नै अगाडि देखिएको छ । अहिलेसम्म गणना भइसकेको स्थानीय तहमध्ये १९१ स्थानमा उपप्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । 

दोस्रोमा देखिएको नेकपा एमालेले १२८ स्थानमा जित हासिल गरिसकेको छ । 

त्यस्तै, माओवादी केन्द्रले ९४, जसपा नेपालले ७, एकीकृत समाजवादीले १३ स्थानमा उपप्रमुखमा जित निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top