ट्रेण्डिङ

होमपेज / कला / साहित्य

भाइ भारदारप्रति

भरत कुमार साउद

नेपालगाथा २०८१ जेठ २७ गते आइतबार २१:५८:०७ मा प्रकाशित

हौला तिमी

किचन क्याबिनेटको नजिकै

कुनै कोर टिममा

र विस्तारै बोले पनि सुन्छ तिम्रो मालिकले

र पुर्याइदिन्छ श्री ३ सम्म

सुनुवाइ हुन्छ तिम्रो कुरा

र बोल्छौ तिमी सकेजति चिप्लो पारेर आफ्नो बोलीलाई

 

हामीले त जसरी बोले पनि

सत्तालाई छोएर आएको हावाले उडाएर पुर्याइदिन्छ बादल पारि 

र बिलाउँछ शून्यमा शून्यसरि

 

तिम्रो भनसुन चल्छ,

तिमी धानको भुसलाई

सुन भनेर बेच्छौ सरकारलाई

र 

देशको ढुकुटीबाट थापिरहन्छौ रोयाल्टी

(जबकि किसान चामलको समेत मोल पाउँदैनन् )

अनि कसरी हुन्छ तिम्रै जस्तो चिप्लो बोली किसानको ?

 

हुनलाई हौला तिमी सामान्य क्लर्क 

तर जब बज्छ तिम्रो फोनको घन्टी 

थरर थर्कन्छ सचिवको कुर्सी

त्यसैले तिमीलाई लाग्छ पढेर बनेको सचिव केही होइन

ठूलो भनेको मुखमा भएको रामराम हो

ठूलो भनेको मालिकको भारदारी हो

ठूलो भनेको चिल्लो बोलेर मालिक रिझाउने कला हो

ठूलो भनेको किचेन क्याबिनेटमा पर्नु हो

अझ सबभन्दा ठूलो कुरा त भारदारको भाइ हुनु हो !

 

जसले

समाजकै लागि भनेर जुनी बिताएको छ

त्यस बुढो इतिहासलाई पछाडि पारेर

बनेका छौ तिमी समाजसेवी एनजिओको अध्यक्ष

जीवनजगत् र समाजको दर्शन खोज्दाखोज्दै

जो बनेको छ आफै समाजको दर्शन

त्यस प्रोफेसरलाई लोप्पा खुवाउँदै 

पार्टीको टीका थापेर बनेका छौ तिमी प्राज्ञिक जगतको मुखिया

तिम्रो कब्जामा छ निर्माण व्यवसाय

र बनेका छौ देशको एक नम्बर ठेकेदार

तिम्रो कब्जामा छ सार्वजनिक यातायात

र बनेका छौ सबैभन्दा ठूलो व्यवसायी 

बर्षौ पढाएको अनुभवी अध्यापकलाई पाखा लगाएर 

बनेका छौ तिमी प्रधान-अध्यापक

कानूनमा पारिदिएको छ भारदारले स-साना प्वाल

र तिनै प्वालबाट तिमीसम्म बर्सिरहन्छ

निगाहस्वरूप सत्ताको जुठोपुरो

नपुग्दो केही छैन तिमीलाई

र बोलिरहन्छौ 

चिप्लो घसेर बिस्तारै - रामराम रामराम रामराम

अनि

घोपिरहन्छौ लुकाएर प्रतिशोधको छुरी - फरक मत राख्नेहरूमाथि

 

तिमी पो हौ त भारदारको भाइ

सत्ताको साझेदार

नपुग्दो केही छैन तिमीलाई

 र पो

डिप्लोमेसी मिसाएर, भाँती पुर्याएर 

मीठो साह्रै मीठो बोल्नुपर्छ तिमीलाई

 

तर

जीवनमा जति उडान भरे पनि

इमान र निष्ठाको पक्षमा उभिएकै कारण

पखेटा काटिएर 

भुइँमा खसाइएको जटायुजस्तो - त्यो समाजसेवी बूढो

अनुचित प्रभाववस पछाडि पारिएको सिनियर अध्यापक

तिमीले कन बेच्दा धान बेच्न नसक्ने किसान

कानूनका प्वालबाट तिमीले लाभ लिइरहँदा

छानोका प्वाल टाल्न नसकी रुझिरहेका हामी भुइँमान्छे

हाम्रो बोली कसरी हुन्छ त तिम्रैजस्तो मीठो ?

 

तिमी कुटिलता बोल्छौ

हामी आक्रोश बोल्छौँ

तिमी तिकडम बोल्छौ

हामी मनपेट बोल्छौँ

तिम्रा पछाडि सरकार छ, सरकारसँग बन्दुक छ

हाम्रा पछाडि उत्पीडनको पीडा र खुराफातविरुध्द आर्तनाद बाहेक केही छैन

र हामी चित्कार गर्छौँ

अनि तिमी भन्छौ - चर्को नबोल !

 

ए भारदार,

तिमी आफै भन - हामी कसरी तिमी जस्तै 

मीठो बोल्न सक्छौँ ?

 

सत्ताको बन्दुक जस्तो

मान्छे मार्न त सक्दैन हाम्रो बोली

तर होस गर यस्तोमा फूलजस्तो नरम पनि हुन सक्दैन

बज्रियो भने तिम्रो रामनामी किल्लामा

देखाउने र चपाउने फरक-फरक तिम्रा बङ्गराजस्ता

दुईचारओटा ईँटा फुस्कन पनि सक्छन् !

प्रतिक्रिया

सम्बन्धित खवर

Top