ट्रेण्डिङ

होमपेज / कला / साहित्य

प्राकृत प्रेम

वासुदेव पाण्डे

नेपालगाथा २०८० माघ १८ गते बिहीबार ११:४१:३३ मा प्रकाशित

ढाक्दा कालो सघन घनले या त पर्दा खडेरी

पर्खी बस्ने पुलकित धरा नित्य आकाश हेरी ।

देखी खुल्दो सगर वर झैँ लाज मान्ने धराले

जोडी जोडी हृदय पुल नै राख्छ झैँ मौनताले ।।

 

पानीथोपा निधि सगरका दूत हुन् या त रत्न

मानूँ बन्ने परिचित लमी मेघ गर्ने प्रयत्न ।

पर्गेलेका लय समयका भूमिका शक्ति सीमा

गर्ने वर्षा प्रणय ऋतुको थालनी यो झरीमा ।।

 

बोले भन्दा पनि सय गुना भावना भङ्गिमामा

भेटे भन्दा अझ निकटता हुन्छ रे सम्झनामा ।

कस्तो माया अटुट धरती व्योमको एकतामा

नौला नौला गतिविधिहरू सृष्टिमा सिर्जनामा ।।

 

आलोपालो दिन त कहिले आउँदा रात लामा

प्रेमी जस्तै सगर धरती गर्दछन् भेट्न धामा ।

पोखे जस्तै बह हृदयका घोत्लिई सम्झनामा

मानूँ मोती लुङ तल खसे वृष्टिमा बाछिटामा ।।

 

टप्की टप्की नयनडिलमा आँसु थोपा खसेझैँ

प्रेमी राखी निज बगलमा प्रेमि-का-ले बसेझैँ ।

बेर्छिन् जस्तो कर-युगलले पाशमा सुन्दरीले

धर्तीलाई रस-मिलनका लागि डाक्यो झरीले ।।

प्रतिक्रिया

सम्बन्धित खवर

Top