ट्रेण्डिङ

होमपेज / कला / साहित्य

देश रेमिट्यान्सबाट चलेको छ ?

भरत राेदन साउद

नेपालगाथा २०८० पौष १ गते आइतबार १०:१६:१९ मा प्रकाशित

लैजाऊ तिम्रा बाबुआमा उतै विदेशी चाकरका बाउआमा पाल्ने केवल वृद्धाश्रम होइन देश
लैजाऊ देशलाई रछ्यान बनाइरहेका तिम्रा लोग्ने/स्वास्नी उतै

लैजाऊ तिम्रा छोराछोरी उतै देश तिनीहरूका शिविरको शौचालय होइन
लाग्छ तिमीले पठाएको रेमिट्यान्सले चलेको छ देश भने नपठाऊ न त

अनि थाहा हुन्छ कसरी चल्दो रहेछ देश ! 
मान्दिऊ, देश – 

छोराबुहारी शहर पलायन भएका बुढा बाबुआमा गाउँमा बिरामी हुँदा डोकामा बोकेर सदरमुकाम पुर्याउने युवाहरुबाट चलेको छैन 
एक छाक निस्तो भात खाएर दिनभर ढुङ्गामाटो गरिरहेको डकर्मीबाट चलेको छैन 

उपचार नपाएर अपाङ्ग बनेको शरीर आफैँसँग बोकेर बालुवा चालिरहेको खुशीराम काकाको पसिनाबाट चलेको छैन 
न बीमा न सुरक्षा, 
तिम्रो भन्दा दश गुना कम कमाइमा टाउकोमा कात्रो बेरेर भर्खरै खुलेको ट्र्याकमा अटो रिक्सालाई एम्बुलेन्स बनाइरहेको किशोरको हिम्मतबाट पनि चलेको छैन 

डोकामा सुन्तला र गोलभेडा बोकेर यो पुसको जाडोमा एकसरो लुगामा पनि पसिना आउने गरी घरघर पुर्याइरहेकी उमेरभन्दा दुई गुना बूढी महिलाको मिहिनेतबाट चलेको छैन र देश, 
मेरी सत्तरी कटेकी आमाले सकिनसकी काटेको घाँस, पालेका चार थान बाख्रा र तिनका बड्कौलाबाट त झन् चलेकै छैन 

अनि जसका आफ्ना बाबुआमा बिरामी त के मरेपछि पनि लाशले छोराछोरी कुर्नुपर्छ 
जो रातारात धनी हुन आफ्नो घरको चुहिने छानो टाल्न छाडेर अर्काको घरमा ट्वाइलेट सोहोर्न हिडेको छ 

उसले पठाएको रेमिट्यान्सबाट चलेको छ देश ? 
अरे वाह, गजब छ यार तिम्रो धमास 
गजब छ विद्वान अर्थशास्त्री नेताको तर्क पनि 
हेर्नुस् 

चलेको छ भने कहीँकतै धन नभएर होस् कि मन नभएर होस् विदेश जानबाट रोकिएका हरूले नै चलेको छ देश 
जेनतेन तिमीले पठाएको रेमिट्यान्सबाट होइन
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top