होमपेज / कला / साहित्य
काठमाडौँ । एक अभियोगमा एक वर्ष जेल जीवन विताएर सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका छन् । उच्च अदालत पोखराले पलविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् ।
पलले सञ्चारकर्मीसँग भनेका थिए, ‘म ‘महाविश्वविद्यालय’मा थिएँ । त्यहाँ कोर्ष गरेर आएको छु । त्यहाँ के-के पढेर आएँ पछि भन्नेछु । तर, त्यहाँ बसाई राम्रो भयो । विश्वविद्यालयमा गएपछि राम्रो ज्ञान सिकिन्छ नै । दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’
शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । २०७८ सालको फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएपछि उनको जेल जीवन सुरु भएको थियो ।
त्यसको ठीक एक वर्ष अर्थात् यही फागुन १५ गते उनी सम्पूर्ण मुद्दाबाट सफाइ पाएर रिहा भए । पल अब केही हप्ताभित्र काममा फर्कि ने तयारीमा रहेको बुझिएको छ । उनी काठमाडौं फर्किनासाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको स्रोत बताउँछ । पल म्यूजिक भिडियोबाटै कामको सुरुवात गर्ने योजनामा छन् ।
फिल्ममा भने उनले आगामी वर्ष मात्र काम गर्न सक्नेछन् । कानुनी झमेलामा फस्नुअघि उनले यशकुमारको एउटा अनटाइटल फिल्म, ‘सत्यम्’ र ‘ओ सजन’ फिल्म सम्झौता गरेका थिए । यी तीनवटै फिल्मका मेकर पलको पखाईमा बसेका थिए । अब उनले यिनै फिल्म पहिला गर्नेछन् वा नयाँ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।