होमपेज / कला / साहित्य
बाँके । कवि तथा संचारकर्मी नवीन अभिलाषीको एकल कविता वाचन बाँकेकाे काेहलपुरमा शनिबार उत्साहजनक तरिकाबाट सम्पन्न भएको छ । अभिलाषीले शुन्यको सुरुवात, ‘बा’को पुरानो चप्पल, आमा, श्रीपेच, नयाँ शासक, घडीको एउटा सुई भएर, वक्यौता हिसाब, अन्तिम साँझ र रहस्यहरु (शीर्षक) का ९ वटा कविता वाचन गरेका थिए ।
कवि अभिलाषीले आफ्ना कविताहरु सुनाएर उपस्थित अतिथि एवं दर्शकलाई मनोरञ्जन मात्रै प्रदान गरेनन् । उनले आमा तथा बुवालाई सम्झिदै लेखिएको चप्पल सम्बन्धी कविता वाचन गर्दा कार्यक्रममा उपस्तिथ दर्शकहरूलाई भावुक बनाए ।

रचना वाचन विभागका संयोजक कवि हेमप्रकाश मंजीलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटर रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि पिटरले कवि अभिलाषीलाई जीवन र जगतका कविता लेख्ने कविको रूपमा चित्रण गरेका थिए । पिटरले भरखरै बजारमा आएको कविता संग्रह मौलाको राँगोमा समेटिएका कवितामाथि टिप्पणी गर्दै पिटरले अभिलाषीको संग्रहले नेपाली कवितालाई न्याय गरेकाे बताए । उनले लेखनीलाई अझै परिस्कृत बनाउँदै लग्नका लागि आगामी दिनहरूमा निरन्तर रचना सिर्जनामा लाग्न सुझाव दिए ।
विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्राध्यापक डाक्टर रेशम बहादुर राना, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ल, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, साहित्यकारहरु सागर गैरे, महानन्द ढकाल, पुष्कर रिजाल, सुमित्रा न्यौपाने, डा. देवेन्द्र आचार्य, भीम बहादुर शाही, हिरालाल शर्मा चिन्तक, लगायत १०० जना भन्दा बढीको उपस्तिथि रहेको थियो ।

टिकटमा कविता वाचन कार्यक्रमले अब साहित्यिक रचना बिस्तारै व्यवसायिक हुँदै गएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए । उनले प्रतिष्ठानको भावी योजनाका रूपमा मिनि थिएटर हल बनाउने सपनालाई पूरा गर्न आफुहरु स्थानीय, प्रदेश तथा संघ सरकारसँग नियमित सम्पर्कमा रहेको पनि बताए ।