ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बुवाको सम्झनामा !

नेपालगाथा २०७९ भाद्र ११ गते शनिबार २१:१२:१५ मा प्रकाशित

बुवा! हजुरले भौतिक रुपमा
छोडेको नि बर्षौ भएछ।
हामी फक्रिऔँ फुलौँ भनी 
पसिना बगाइ गोडेको नि बर्षौ भएछ।

झल्झली याद आउँछ 
फूर्तिलो ज्यान
आगो ओकल्ने बोली 
अनि कोमल हृदय 
डरलाग्दो र भरलाग्दो
हजुरको मुहार
खै! कसरी बयान गरुँ 
शब्दै नभेटिने।
यादहरु छोडेर जानू भो
मेट्दै नमेटिने।

मलाई राम्रोसँग याद छ सानोमा हजुरले
सिलेटमा अक्षर कोर्न सिकाएको 
अक्षरहरु शब्द बनाइ घोक्न सिकाएको।
नाङ्गा खुट्टामा काँडा बिझ्दै 
हिंडेका डाँडा काँडाहरुमा
हजुरले मिठो धुनमा गितहरु
सुसेलेका वन पाखाहरुमा
आज पनि खोज्छु कहिलेकाहीँ 
कतै झुलुक्क पो देखिनुहुन्छ कि।
छोरा! भन्दै खोज्दै 
गाउँ घरमा पो भेटिनुहुन्छ कि।

गुमाउनु को पीडा गुमाउनेलाई थाहा हुन्छ
हुँदा सम्म कसैको अभाव काहाँ हुन्छ।
अभावको खडेरी त
कस्ले पो मेट्न सक्दोरहेछ र!
बुवा! हजुर हिंडेपछी 
कस्ले पो भेट्न सक्दोरहेछ र!

भौतिक रूपमा हामी संगै 
हजुर भएको आभाष भए पुग्थ्यो !
मलाई मग्मगाउँदा फूलहरु नि 
फिक्का लाग्छन् आजभोलि 
गोली झैँ बोलिमा 
मिसिएको सुभाष भए पुग्थ्यो ।

हार्दिक श्रद्धा छ बुवा!
जीवनमा केही गर्न आँट्नेछु।
बिन्ती एकपटक आइदिनुहोला
बिपनिमै नभएनी सपनीमा
हृदयका सुखदुःख साँट्नेछु।।
                       – एन्. बि. 'प्रगल्भ'
                               कालिकोट

प्रतिक्रिया

सम्बन्धित खवर

Top