ट्रेण्डिङ

होमपेज / कला / साहित्य

घडिको एउटा सुई भएर ----

नेपालगाथा २०७८ कार्तिक १२ गते शुक्रबार ११:३७:२४ मा प्रकाशित

सूर्य भएर मैले पृथ्वीलाई गरेको प्रेम जस्तो भयो - सम्बन्ध ।

यस्तै भयो, हाम्रो भेट बाढी भएर किनारलाई सुम्सुम्याए जस्तो,

खुकुरीले अचानोलाई चुम्बन गरे जस्तो ।

म बीच सडकमा खसेको औठी भएँ तिमी अर्कैको हातमा पुगेको हात जस्तो ।

म भुईमा मरेको पात जस्तो भएँ-

शिशिरको तिमी बसन्तको पल्लव जस्तो हतारै हतारमा,

पिउँदा पिउँदै कपमै छुटेको कफिको म अन्तिम घुट्को भएँ

भन, तिमी के भयौँ ?

लुङ्दरको रंग जस्तो भएर म तिम्रो स्मृतिको आँगनबाट उडि जान चाहन्छु,

मध्यरातमा उल्का जस्तो खसेर ब्रह्माण्डमा म कतै विलिन हुन चाहन्छु,

भाग्य यदि जिउँदो छ भने नसिवकै रित्तो पानामा म चिठ्ठी लेख्न चाहन्छु ।

म यतिबेला स्याण्डलको तिखो कुर्कुच्चाले बाटोमा छोडेको छाप हुँ ।

जुलुसबाट घर फर्किरहेको मानिसले समाएको एक तुल।

माटोमा गाडिएको घडि भित्र विस्तारै छट्छटाइरहेको एक मात्र सुई हुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top