ट्रेण्डिङ

होमपेज / कला / साहित्य

मेरा बा

इश्वर पाेखरेल

नेपालगाथा २०७८ भाद्र २३ गते बुधबार ०९:२१:४४ मा प्रकाशित

( विहानै छोराहरूले ‘बा को मुख हेर्ने दिन’ भनेर निधारमा रातो टिका लगाइदिए । मैले भने मेरा दिवंगत बा लाई सम्झिरहें !)

—————

मैले मेरा बा खोज्न -

धेरै पटक आफ्ना दिमागका आँखा मिचे,

आँखा चिम्म पारेर प...र प...र हेर्न खोजे ..!।

चम्किरहेका ताराहरू र चहकिलो जून नियालें ,

कहिले निष्पट्ट अध्यारो रातमा बाटो काट्दै गर्दा

आफै अगाडि ठिंग उभिन आइपुगेको,

सलवलाउँदै गरेको - बग्दैगरेको

कालो आकृतिको सामना गरें !

तर अहँ ...

बा लाई सग्लो आकारमा भने

देख्न सकिन / पाउन सकिन

मेरा बा सँधै धमिलो आकृतिमा

मेरा अगाडि उभिई रहनुभो- आइरहनुभो !

त्यही धमिलो आकृति - मेरो बाको आकृति !

अघाउजी हेर्न खोज्छु - ठम्याउन खोज्छु

तर दुर्भाग्य ! देख्नै सक्तिन - ठम्याउनै सक्तिन

सल्वलाउँदै गरेको- बग्दैगरेको

धमिलो / कालो आकृति

मेरो बा बनेर

सँधै सँधै मेरा अगाडि ठिंग उभिन आइपुग्छ !

मेरा बा -

मैले तपाईंलाई सँधै सँधै यसरी नै भेट्दै आएकोछु !

बालखै उमेरमा,

मृत्यु शैय्यामा लमतन्न परेको

बाको शरिरलाई अहिले पनि सम्झन्छु !

भक्कानिएर रूँदैगरेकी मेरी आमाको सारीको सप्कोले मुख छोप्दै

बा लाई त्यसवेला नियालेको थिएँ -

म, आमा झैं डाको छोडी रोएको त थिइन -

तर रून खोज्दै र रून्चे अनुहार लगाएर बा को अनुहार हेरेको थिएँ -

दीर्घ रोगी बनेर गलिसकेको ,

अस्वभाविक रूपले कालो बनिसकेको अनुहार ,

वेस्सरी तील चामल बनिसकेका लामा लामा

दारी जुंगाहरू ,

वेस्सरी धस्सिएका आँखा ,

हो- मैले तपाईंलाई त्यही रूपमा देखें - मेरा बा!

उत्तरार्धतर्फ बढिरहेको म,

अहिले पनि ,लगातार बा लाई देख्ने - भेट्ने धोकोमै छु ।

तर , सँधै सँधै त्यही र त्यस्तै

कालो कालो , धमिलो धमिलो आकृति

मेरो बा बनेर ठिंग्ग उभिने गरेको छ ,

म निरन्तर निरन्तर बा को खोजीमा छु,

जति धमिलो देखिए पनि

बा लाई देख्ने - भेट्ने प्रयत्न

जारी छ - जारी रहनेछ !

बा !

तपाईंलाई देख्ने , अघाउँजी हेर्ने

मेरो अखण्डित धोको मरेको छैन- जारी छ !

———+______————-

प्रतिक्रिया

सम्बन्धित खवर

Top