होमपेज / कला / साहित्य
कमजोरी:- - कति उज्यालो छ संसार म अध्यारो मात्र देख्छु त्यो मेरो कमजोरी हो !
- कति खुला छन् बाटोहरु जसको माध्यम हुँदै उत्साहित छन् पाइलाहरु र निरन्तर छ यात्रा पनि, म बन्द, साँघुरो हर जहाँ जन्जिर देख्छु, सडकलाई गल्ली र गोरेटो देख्छु, मैदानलाई भीर सम्झिन्छु त्यो मेरो कमजोरी हो !
- कति मनोरम सुन्दर र हरियाली छन् बनपाखा, पखेरा र चुलीहरु, घुम्ती भञ्ज्याङ् र देउरालीहरु, जहाँ गुन्जिन्छ न्याउलीको न्याहुँ र कोइलीको कुहुँ ... म यो यावत् परिवेशलाई व्यर्थ र मरुभूमि सम्झिन्छु त्यो मेरो कमजोरी हो !
- कति निर्मल छन् कलकल बग्ने नदी-नालाहरु, झर्ने झरना, वहने हावाका अदृश्य सुशेलीहरु, धानखेतका बयलीहरु, म यो फगत र फिका सम्झिन्छु त्यो मेरो कमजोरी हो !
- कति विशाल छ आकाश र खुला धर्ती बीचको फैलावट प्राणी जीवको जन्म अमुल्य जीवनपोहार जीत र जिजिविशा, म यसलाई बाच्ने सास्ती र अविशाप सम्झिन्छु, त्यो मेरो कमजोरी हो !
- कति प्रिय छन् मान्यजनहरु, गुरुजनहरु, सन्तानहरु, मार्गदर्शकहरु, हितैसी र नजीककाहरु, साथीभाइहरु, सहयोगी हातहरु र शुभचिन्तक मनहरु, म उहाँहरु रहने यो सुन्दर गाउँ बस्ती र शहर निर्जन, सुनसान र एक्लो देख्छु, बिचको साइनो नाता र आत्मीयतामा दुरि देख्छु त्यो मेरो कमजोरी हो !
- कति गहन छन् जिम्मेवारी, कार्यभार र विश्वास म यसलाई बाध्यता र बोझ सम्झिन्छु त्यो मेरो कमजोरी हो !
- कति वेतित गरियो जीवनका उकालोहरु, ओरालोहरु, दुख, संघर्ष, संकट, भोक, प्यास र सकसहरु, भविष्यको सुनौलो मार्ग खोज्न मुस्किलले पुर्याइयो जिन्दगीलाई वर्तमानको यो कटघरामा ! कति अमुल्य गुमाइयो, कति मुल्य प्राप्त गरियो पनि ! फर्केर हेर्दा ....... पुनः एक पटक कहिँ कतै चित्त नबुझ्नु, खुसी नभेट्नु, नैरस्यतामा रुमलिनु त्यो मेरो कमजोरी हो ! हुनत भोगाइका महसुस र मनका बिचारधाराहरु आफैंमा कमजोरी त होईन तर, आफ्नै कमजोर पाटोहरुलाई सुधार गर्न नसक्नु त्यो मेरो अर्को कमजोरी हो!!