ट्रेण्डिङ

होमपेज / कला / साहित्य

"किन हटेनन् अझै बिभेदहरु ?"

मुकुन्दकृष्ण थापा

नेपालगाथा २०७८ असार १७ गते बिहीबार ०९:१९:५६ मा प्रकाशित

रगत पसिनाले सिंचीत माटोमा 

अङ्कुरित बिज हुर्काउँदै, 

पल्लवित लोकतन्त्रको वृक्षमा 

गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर

वीरताको अमर गाथा कोरेकाहरु,

परिबर्तनको प्रतिफलबाट बन्चित भएर

बाँचिरहेछन् ,                 

गुमनाम जिन्दगी !

जीवनोपयोगी शिक्षाबाट ठगिएर

व्यापारिकरणको नङ्ग्राले चिथोरिएर 

ठालुहरुको होच्याइबाट थलिएर

थिलथिलो भएका पाठशालाहरुले

जन्माइरहेछन् ,

बेरोजगार बहादुर र कान्छाहरु ।

पुर्णीमालाई लखेटेर 

औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा

झलमलाई रहेछन् ,

पितृसत्तात्मक सोचका ताराहरु ।

असमानताको कालोपत्रे बिछ्याउँदै

एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,

एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

पहिचान लुकाउनेहरुको विवशता देखेर,

सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।

आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,

छुवाछूतले फाटेका मन सिलाउने मेसिन

आविष्कार नहुनुका कारणहरु,

खोजिरहेछन् आरनहरु ।

सङ्कीर्णताको माला भिरेर

अहङ्कारको टीका लगाएर

ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै

शीतयुद्धमा भाग लिइरहेछन् ,

धर्मका अनुयायीहरु ।

हुरी बतास र बर्षादसँग

आत्मासमर्पण गरिरहेछन् ,

चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।

वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै

बगिरहेछन् निरन्तर, 

भोकको आगोलाई निभाउन नसकेका

अभावलाई बगाउन नसकेका

पसिनाका नदिहरु ।

सुशासनको रटानले तिर्खाएर

धारा उपधाराहरुले

प्यास मेटेकाहरु सामुन्ने

ठडिरहेछन् प्रश्नका सगरमाथाहरु

आखिर, 

किन हटेनन् अझै बिभेदहरु ???     

         ~~समाप्त~~

खोटाङ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top