ट्रेण्डिङ

होमपेज / कला / साहित्य

'यसपाली त प्रधानमन्त्री  मेरै पालो हो !'

चुच्चेको चासो

नेपालगाथा २०७७ फाल्गुण १५ गते शनिबार ०९:४४:३१ मा प्रकाशित

आहा ! नयाँ दौरा सुरुवालमा सजिएको पो देखें । अस्तिसम्ममा त यी दराजमा पनि देखेकी थिइन । आज त झ्वाट्टै ! रेडिमेट हुन् कि, कपडा  किनेर सिलाएको हो ? कहाँ किनेको हो ? `चाइना मार्केट´मा हो कि,`हङकङ´ मार्केट हो ? `पशुपतिको प्लाजामा´ हो कि´`भाटभुटानी´ मार्केटमा ? क्वालिटी हेर्दा त अमेरिकाको `टेक्सासटायल´ कम्पनीक‍ो सामान  `इन्डियन´ म्याग्निफेक्चर्ड जस्तो छ । सिलाइ पनि मान्छे अनुसार खुबै मिलाएको रहेछ ? बाघबजारको सर्वश्रेष्ठ टेलरिङमा सिलाएक‍ो जस्तो  !हिरै देखिएका छौ ! भनेर जीवनसंगिनीले प्रश्नका साथै जिज्ञासा  प्रकट गरिन् । उनको यो भनाइ गुणगान हो कि व्यङ्ग्य हो ? बुझ्नै गाह्रो  भयो ।

पौष महिनादेखि शुरु भएको, ` स्व-स्थानी ´कथा महात्म्य माघ शुक्ल महिनामा सकिनथाल्यो। त्यसैले यसपटक शालीनदीतिर जाऊँ कि ? भनेर निस्कन थालेको। उहिले कहिले हो ? शाली  नदीको  दक्षिण पश्चिम  दिशामा अवस्थित लावण्य देशमा राज्य संचालन गर्ने कार्यकारी प्रमुख(राजा) नहुँदा, गोमापुत्र, नवराजलाई हात्ती आएर अभिषेक गरेर कार्यकारी प्रमुख (राजा) बनाएका थिए रे ! त्यसबेला शिव शर्मा ब्राह्मणकी पत्नीगोमा ब्राह्मणी पनि स्वस्थानी माताको व्रत बसेकी थिइन  रे ! अहिले तिमी मेरी पत्नीले स्व स्थानीको पनि व्रत  लिएकी छौ। अहिले हाम्रै देशको शाली नदीको दक्षिण पश्चिम दिशामा पर्ने प्रदेशमा पनि कार्यकारी प्रमुख (प्रधानमन्त्री )को  खोजी भैराखेको छ रे ? कतै मेरो भाग्य र तिम्रो व्रतको प्रभावले कतै चिट्ठा परि पो हाल्छ कि ? त्यसैले शालीनदी तिर जाँऊ कि ? भनेको भनेर, आफ्नो मनको कुरो व्यक्त गरें ।

"कस्ता कस्ता  कहाँ गए ? मुसा बच्चा चौकिदार" उहिले त नवराजलाई राजा बनाउन हात्तीले अभिषेक गरेको थियो । अहिले "दाह्रा" तस्करहरुले सबै हात्ती मारिसक्न थाले, हात्ती पाइदैनन् । तर उस्तै उस्तै देखिने सेता,राता र काला बंगुरले अभिषेक गर्ने गराउने त होला?" भन्दै खितितिती हाँसिन् ।

मलाई भने झनक्क रिस उठेर आयो । म किन हुन नसक्ने ? ममा के कुराको कमी छ ? कुरा चलाउन पनि जानेको छु, छुरा चलाउन पनि जानेको छु । विद्यार्थीहुँदा भाषण गड्काएकै हो । वेरोजगार भएर दिनभरि पाखा पखेरा डुलेर भएपनि कालिज तीत्रा मार्न गुर्ता, एअरगन अनि,बन्दुक पनि पड्काएकै हो। कतिलाई चन्दामा पनि पारियो । कतिलाई फन्दामा पनि पारियो । कुट् नीति पनि अवलम्बन गरियो। फुट् नीति पनि अवलम्बन  गरियो । भुट् नीति पनि गरियो ।झुट नीति पनि अवलम्बन गरियो ,लुट नीति पनि अवलम्बन  गरियो । साम, दान, दण्ड, भेद चारै नीति प्रयोग गरेर महाभारत युद्धमा  पाण्डवले जिते ।म पनि अभिषेक हुने अनुकूल सम्म "पाण्डव" नीति अपनाउनु पर्ला ,प्रतिकूल हुन थाल्यो भने "ताण्डव "नीति उपयोग गरिन्छ । पहिले पनि गरेकै हो, अहिले पनि गरिन्छ भनेर भूँइमा खुट्टा  बजारेँ ।

वा ! वा !  मन्त्री  हुनेको लक्षण ! मन्त्री  भनेको के हो ? मन्त्रीलाई अंग्रेजीमा  के भन्छन् ? भन्ने प्रश्न गर्दै मेरो विद्वत ज्ञान प्रति  समेत श्रीमतीले परीक्षण गर्न थालिन् ।

मन्त्रीलाई अंग्रेजीमा `मिनिस्टर ´ भन्छन्  त्यतिपनि थाहा नभएको जस्तो गराउँछे  ए!गाँठे ! भनेर जुँगामा ताउ लगाएँ।

 यो `मिनिस्टर ´शब्दको अर्थ कस्तो हो ? सुन्छौ ? ल्याटिन भाषाको minister बाट आएको शब्द हो। यसको वास्तविक  अर्थ  Servant  (नोकर) हुन्छ । अंग्रेजीको  `Prime´ शब्दबाट  नेपालीमा प्रधान भएको हो । त्यसैले` prime minister ´ भनेको  `प्रधान नोकर ´अर्थात्  पहिलो नोकर  भनेको हो। तिमीसंग नोकर हुनसक्ने गुण छ र ? घरभित्रकै भुरा-भुरी (छोरा-छोरी )लाई एकछाक पनि पकाएर, खुवाएर ,जुठा भाँडाकुँडा पनि माझ्न नसक्नेले अझैं देशकै  पहिलो नोकर (prime minister ) बन्ने हिम्मत है ?

भो! भ‍ो ! धेरै  नकराऊ । आजकलको कुरा गर । हाम्रोजस्तो  मुलुकमा `प्रधान मन्त्री ´ भनेको जनताको मालिक (master) हो । उहिले ग्रीकसभ्यता,ल्याटिन भाषाको शब्दको अर्थमा पो `नोकर´ (servant )भन्ने थियो होला । अहिले त जनताको `मालिक ´हो । शब्दको अर्थ कहाँ  संधै एउटै हुन्छ ? अर्थ बिस्तार हुन्छ,अर्थ संकोच हुन्छ । अर्थापकर्ष हुन्छ ।अर्थोन्नति हुन्छ । "उहिलेका कुरा खुइले" । पहिले `किसान´शब्दले `चोर´लाई बुझिन्थ्यो । अहिले किसान कस्तो सम्मानित शब्द मानिन्छ ? पहिले तीलबाट मात्र  निस्कने चिल्लो तरल पदार्थलाई मात्र  तेल भनिन्थ्यो ,अहिले तेल भन्यो भने ,भटमासको,सूर्यमुखीको,आलसको, अदुवाको, वनस्पतिको समेत बुझिन्छ ।  युग कहाँबाट कहाँ पुग्यो !यस्तो परिवर्तन  कति भएको छ भनेर विस्तार,संकोच,उन्नति र अपकर्षका समेत शब्दहरु   थुपारेँ ।

हिड्नेबेला जहिले पनि साइत बिगार्ने । प्रधानमन्त्री को अभिषेकका लागि `अरण्य ´प्रदेशबाट ल्याएको हात्तीले जसलाई अभिषेक गर्छ त्यही मन्त्रीमा प्रधान हुने रे भन्ने हल्ला छ। कतै मेरो पूर्व गुणका कमाइले मलाई नै अभिषेक पो हुन्छ कि ?हुनत सबै म जस्तै आउने त होलान् ।

"जाऊ,जाऊ । हात्तीले छान्ने भए त शेर,सिंह,हुँडार,राते पनि आउछन् होला ।तिमीजस्तै देखिने भोकले मर्न लागेका जस्ता `चैतेबाँदरहरु´ पनि हुलै बाँधेर आउनेहोलान् "भनेर आफ्नै पतिदेवलाई समेत वन्यजन्तुसंग तुलना गरिन् ।

अपमान गर्नुको पनि सीमा हुन्छ नि ? मलाई सोझो देखेर हेप्नी ? जाँदैमा के बिग्रन्छ र ? सुकर्म गरेको र धर्मात्मी रहेछु भने अभिषेक पाइएला ।कुकर्म गरेको र पापी रहेछु भने चन्द्रावती झैं डोले सहित शालीनदीमा  चुर्लुम्बै डुब्नु पर्नेहोला । "भए सिंहासनको बास नभए चपरीमुनिको बास " छदैछ भनेर श्रीमतीका अगाडि आफ्नो पुरुषोत्व प्रदर्शन गरें ।

थाइराइड,प्रेसर  र  सुगरका प्रभावले होला ,मेरी उनीले पनि शक्ति प्रदर्शन गरिन् । तँ -तँ, म- म सम्म चल्न थाल्यो ।आवाजमा पनि चर्का- चर्की हुनथाल्यो। त्यही आवाज सुनेर  आँगनमा घाम तापेर बसेकी मेरी आमा आएर हामी दुवैजनालाई हकार्नु भयो ।के को रडाको हो ?दुवैजना आगो हुनु पर्ने ? एकजना पानी हुन सक्तैनौ ? आगो पानी भए पो गृहस्थी ,जीवन चल्छ । दुवैजना आगो भए घरै डढ्छ । घरै जलाएर खरानीको थुप्रो लगाओ। आँगनमा बस ।आफै आङमा घस ।शत्रु- ब‌‌ैरीलाई हँसाओ । बिहान घाम झुल्कने बेलादेखि नै रडाको ? अलच्छिना । सत्ययुगमा शालीनदीको छेउबाटै हात्तीले अभिषेक गरेर नवराजलाई राजा बनाएको कथा पढेर,कलियुगमा पनि शालीनदीमा पुगेर जंगली हात्तीले अभिषेक गर्छकि भन्ने आशा गर्ने ?प्रधान मन्त्री  छान्ने पनि आफ्नै नियम कानून होलान् ।  तँ पनि धतुरे नै रहेछस् भनेर हकार्नु भयो । तर मलाई कुनै कुराले  छोएन किनकि मेरो मन , त्यो शालीनदी .. । ..हात्तीले गर्ने अभिषेक । नवराज राजा भएको .., स्व - स्थानी बर्तकथा र त्यसको प्रभावले कतै मन्त्रीमा प्रधान हुने दिवास्वप्न आफ्नै अगाडि घुम्न थाले । शालीनदीको दक्षिण पश्चिम देशको मन्त्रीमा प्रधान । 

मेरो चासो केवल प्रधानमन्त्री, आहा!!  यसपालीको प्रधानमन्त्री मेरै पालो हो ।

अस्तु ।।

  • खोपीराम लम्साल
  • Krlamsal 2018 @gmail.com
  • नैकाप काठमाडौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top