ट्रेण्डिङ

होमपेज / कला / साहित्य

"यसको बा मर्ने टोके"

चुच्चेको चासो - व्यङ्ग्य

नेपालगाथा २०७७ माघ १९ गते सोमबार २२:५१:०१ मा प्रकाशित

कहिलेकाँही त बाबुले समेत, छोरालाई, रिसको आवेगमा घर परिवारलाई सुनाउँदै, `"यस्को बा मर्ने टोके", दिनभरी कुकुर डुल्दा झैँ डुल्छ, । राति के-के धोकेर आउँछ ? घरमै उखर माउलो मच्याउँछ ।" भनेर चिन्तित पनि भएको पाइन्छ ।

`गाली´एउटा अवांछनीय शब्द या दुर्वच हो । कुनै व्यक्तिले रिसको आवेगमा अर्को व्यक्तिलाई तल्लो (निम्न) स्तरमा झारेर गरिने अपशब्द हो । ब्यबहारिक जीवनमा कुनै व्यक्तिले जानी-जानी, बुझी-बुझी गाली´गर्दछ भने कसैले अन्जानमा पनि गाली गर्ने गरेको पाइन्छ । गाली दुर्ब्यवहारका आधारमा दुई किसिमको हुने गर्दछ । १) शारीरिक २) मानसिक । शारीरिक गालीले शरीरमा हानी पुर्याउँछ जस्तै हान्नु, कुट्नु धकेल्नु आदि । मानसिक गाली, शब्दका माध्यमबाट अभिव्यक्त हुने गर्दछ, जसले मान्छेको मन मष्तिष्कलाई आघात पु-याउँछ । अभिव्यक्तिका आधारमा हाम्रो समाजमा दुई प्रकारका गाली  प्रयोग गरेको पाइन्छ । श्लील र अश्लील । वर्गीकरणका दृष्टिकोणले विभिन्न तरिकाका हुन सक्छन ।

`गाली´को प्रयोग स्थानका आधारमा फरक फरक पनि गर्ने गरेको पाइन्छ । कुनै `गाली´ वंशानुगत सर्दै आएको पाइन्छ भने कुनै गाली परिवेश, संगत र स्थान अनुसार प्रयोग गरिने गर्दछ । यसै अन्तर्गत म जन्मिएको दाङ जिल्लाको केही स्थानमा मात्र अन्य गाली झैं "तेरो / यसको बा मर्ने टोक्या/टोके" भनेर गालीको प्रयोग गर्ने गरिन्छ । आश्चर्यजनक भावमा, ओ ! हो ! त्यसको बा मर्ने टोकेले यस्तो, त्यत्रो काम गरेछ ! कुनै काममा असफल भएमा होच्याउँदा, त्यसको बा मर्ने टोके, खूब चुरी फुरी गर्थ्यो, स्वाद भेट्यो । `त्यस्को बा मर्ने टोके´ आफू राम्रो नभए पनि स्वास्नी त राम्री भेटाएछ ! त्यसको बा मर्ने टोके होला र, पैले दूध बेच्न हिडेका खुट्टामा  अझै ठेला पर्या होलान् ?, अहिले खुबै फूर्ति लगाउँदै हिड्या छ ।`यसको बा मर्ने टोके´, पैसा सापटी लग्याउ (लगेको) हो, दिने चाल चुलै गर्दैन ।`त्यसको बा मर्ने टोके,´ त्यसकै दिमाग ले त हो नि ? बाबुले पढाउँदा पढेन, अहिले डुलुवा कुकुर जस्तै डुल्या छ" यस्तै थुप्रै प्रसंगहरुमा` तेरो\यसको, बा मर्ने टोके´ भन्ने गालीको प्रयोग गरेको पाइन्छ । कहिलेकाँही त बाबुले समेत, छोरालाई, रिसको आवेगमा घर परिवारलाई सुनाउँदै, `"यस्को बा मर्ने टोके", दिनभरी कुकुर डुल्दा झैँ डुल्छ, । राति के-के धोकेर आउँछ ? घरमै उखर माउलो मच्याउँछ ।" भनेर चिन्तित पनि भएको पाइन्छ ।

गाली पनि कस्तो कस्तो ? `यसको बा मर्ने टोके´ भनेर बाबुले छोरालाई गाली गरेको हो कि आफैलाई  ? किनभने गाली पाउने छोराको बाबु आफू नै हुन्छ । ठिक यस्तै गाली हिजो आज  राजनैतिक दल भित्रका शीर्ष नेता कहलियका भनाउँदा नेताहरुले गरिरहेका छन् । एउटै माला गुथेर हिडेका नेता, आज आफैले चुडालेर घर भित्रका सन्तानलाई नै दुर्वाच्य बोलेर सन्तानको समेत उछितो काढिरहेको सुन्दा र देख्दा, उहीँ बाबुले छोरालाई "तेरो/यसको बा मर्ने टोके" भनेको झैं भइरहेको छ । अझै के कति र कस्ता गाली आउने होलान् ? चासो र चिन्ता को बिषय, अहिलेलाई यत्ति ।

  • खोपीराम लम्साल
  • २०७७-१०-१९
  • krlamsal2018@gmail.com

प्रतिक्रिया

सम्बन्धित खवर

Top