ट्रेण्डिङ

होमपेज / कला / साहित्य

"एउटै गोठका साँडे भेडा, माघीसम्म लाई"

नेपालगाथा २०७७ माघ १३ गते मंगलबार १९:१३:२८ मा प्रकाशित

पाटन लैजाऊँ चिसो बढ्याछ । ‍औल (तराई) लैजाऊँ शीत लहर चल्याछ ! फाँट लैजाऊँ कुइरो लाग्या छ ! सूर्य पनि झुल्केर घाम लाग्ला- लाग्ला जस्तो गर्ने बेला झ्याप्पै कुहिरो, तुवाँलो, ढुरी, हुस्सुले ढ्याम्मै बनाएर ढाकिदिन्छ । छानाबाट तप-तप पानी चुहेर बलेन्द्री भिजेको भिज्यै छ । दिक्कै, हुन थालि सक्यो गाँठे ! यी दुई चार वटा भेडा पाल्न पनि । जाडो सहन पनि नसक्ने । गर्मी खेप्न पनि नसक्ने । कस्तो अडबाङ्गे जात परेछ !

एकछिन घाम लाग्यो भनेर बाहिर सार्यो, सारेको पाँच मिनेट पनि गर्मी सहन नसकेर ह्याप-ह्याप गर्न थालि हाल्छन् । लतार्दै फेरि गोठभित्र लगेर किलामा बाँध्यो । बाँधेको बाँधै भ्या-भ्या गरेर कराउन थालि हाल्छन् । दिनभरको काम यिनै भेडालाई भित्र बाहिर गराउनमा नै ठिक्क हुन्छ । घरका अरु जहानले सघाउँछन् कि आश गर्यो तर तिनीहरुले सघाउनुको सट्टा भित्र-बाहिर गराएको तमासा पो मानेर हेर्छन् ।

आफूलाई भने रातो दिन नभनी बर्खामा पाटन, हिउँदमा तराई गराएर भए पनि बचाउनु र चराउनु पर्या छ । तै पनि भेडाको `जातै बैगुणी´ हुँदोरहेछ ! जहाँ लगेर खोर बनाए पनि भ्या-भ्या गर्न नछोड्ने । पशुको जात भए पनि एकछिन त पशुलाई पनि स्वतन्त्रता चाहिन्छ भनेर घाँटीको दाम्लो छुटाएर आँगनमा छोडिदियो भने पनि मेरो सदासयलाई कमजोरी ठानेर होला आँखा झिमिक्क पार्न पाएको हुँद‌ैन, उफ्रेर बारीमा पसेर, सागका पात, मुण्टा, भ्याकुर, ढाँकुरसमेत ठुट्टै पारिदिन थाले । के गर्नु ? सबैले किन कि किन राम्रा देखिन्छन् पाठा भनेर किनेर ल्याइयो ।

अहिले सताउन लागे । बेचौं भने पनि कता बेचौ ? किन्नेवाला जस्तो पनि कोही देख्दैन ? छर-छिमेकीलाई बेचूँ भने पनि कोही शाकाहारी छन्, कोही सित्तैमा पाए धार्नी चूक खाने छन् कोही यस्सो आँखा छल्न पाए भेडै उडाउलान् जस्ता छन् । मेरो मान, शान, काम र हाम सबै यिनै भेडाको स्याहारले बिग्रेला जस्तो भै सक्यो। यिनै भेडाले गर्दा म, पुष्पमान जिम्दारको नाति मोहनमान पट्वारीको छोरो कलहेन्द्रसंग म भेटवालले परिचितलाई पनि गाउँलेहरुले `भेडागोठालो´ भन्न थालिसकेका छन् ।

अबको जिन्दगी यसैगरी घाँस काट्दै, दाना बनाउँदैमा जान्छ कि क्या ? भेडाका भुत्ला (रौं) बाट कम्मल, कोट बनाउँला भन्ने सोच थियो । आजभोलि त दिक्क लागेर कहिलेकाँही भिर, पखेरा, काल्ह्नाबाट लडे पनि हुन्थ्यो जस्तो लाग्छ, तर के गर्नु ? भेडै भए पनि आफूले पालेको हुनाले माया लाग्दो रहेछ !

अबको जिन्दगी यसैगरी घाँस काट्दै, दाना बनाउँदैमा जान्छ कि क्या ? भेडाका भुत्ला (रौं) बाट कम्मल, कोट बनाउँला भन्ने सोच थियो । आजभोलि त दिक्क लागेर कहिलेकाँही भिर, पखेरा, काल्ह्नाबाट लडे पनि हुन्थ्यो जस्तो लाग्छ, तर के गर्नु ? भेडै भए पनि आफूले पालेको हुनाले माया लाग्दो रहेछ !

माया लागेरै होला, एकभारी घाँस भेडालाई दिनू भनेर जीवन संगिनीलाई भने । म एकछिन बिचारी बाजे कहाँ पुगेर आउँछु भनेर फुत्त निस्कन आँटेको थिएँ । "सक्तैन मैले, मेरो आफ्नै काम छ । माघे खुवाउन भनी दिदी, बहिनी, ज्वाइँ, छोरी, भदा, भदैनी, आमाजु, भिनाजुलाई निम्तो गरेकि छु । निम्तो गरेर फर्कदा बाटोमा फूलमालाले सजिएका, अबिरले रंगिएका, कम्मरमा पटुकी, हातमा बटुकी लिएका साथीहरुलाई भेटें । उनीहरुलाई पनि लिएर आएँ । यी हेर्नुहोस्" भनिन् ।

घरै भरी गजदम्ब बसेका पाहुनाहरुलाई नियाँले । कोही चिनेका कोही नचिनेका रहेछन् । नमस्कारको आदान प्रदान चल्यो । "एकदिनको पाहुना मीठोमीठो खाऊ, दुई दिनपछिको पाहुना जतासुकै जाऊ" भन्ने लोकोक्ति संझें । अहिले कामले बाहिर जाँदैछु, भेडालाई यसो फुर्सद निकालेर घाँस हालिदिनू भनेर श्रीमतीलाई पुन: अनुरोध गरें । सक्तै न मैले स्याहार्न, घरपरिवारसंग सर-सल्लाह नै नगर्ने । गोठै नबनाएर स्वाट्ठै लिएर आउने । तै पनि ठिकै छ भनेर चित्त बुझायौं ।

सब‌ै भेडा साँढे परेछन् ! खोर भित्रै लडेर, भ्याभ्या र ट्याट्या गर्छन् । तँ भन्दा म के कम ? गरी, सिङ झ्याप्प-झ्याप्प जुधाउँछन् । बिचरा ओथारोमा बसेका कुखुरा, चल्लाहरुसमेत क्याँकक्याँक र कुँक्कुँ गर्छन् ।

किनेर ल्याउँदा पनि भेडा-भेडी सबै मिलाएर, छानेर ल्याएको भए पनि हुन्थ्यो । तिनीहरुबाट पाठा-पाठी हुन्थे । हेर्नेलाई पनि मजा हुन्थ्यो । तर के गर्नु  ? सब‌ै भेडा साँढे परेछन् ! खोर भित्रै लडेर, भ्याभ्या र ट्याट्या गर्छन् । तँ भन्दा म के कम ? गरी, सिङ झ्याप्प-झ्याप्प जुधाउँछन् । बिचरा ओथारोमा बसेका कुखुरा, चल्लाहरुसमेत क्याँकक्याँक र कुँक्कुँ गर्छन् ।" भनेर गोठे परिवेश महात्म्य सुनाउन थालिन् ।

कताबाट छोरो आयो र सोध्यो," आमा ! माघी खाने, खिजडीसँग मासु छ, कि छैन अरु..." ? यत्ति के भन्दै थियो, गजधम्म गरि बसेका कुन चाँहिले हो," पीर कत्ति नलिनुहोस् हजुर ! गोठका भेडा साँढे माघीसम्मलाई ।" यो सुनेर सबै गलल हाँसे । म पनि पाहुनातर्फ हेरेर मुसुक्क मुस्कुराएँ । अस्तु ।

  • खोपीराम लम्साल
  • krlamsal2018@gmail.com
  • चन्द्रागिरी-१४, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

Top