ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गुट बनाएका हौ कि साथी गोटी बन्या हौ ?

चुच्चेकाे चासाे – व्यङ्ग्य

नेपालगाथा २०७७ माघ ११ गते आइतबार १६:५४:२७ मा प्रकाशित

अस्ति- अस्तिसम्म घरको छानामाथि घामआउँदा पनि नउठ्ने मान्छे,आजकलत बिहानै पो उठ्न थाल्यौ,के विधि फरक भा´को हो? अझ जानी नजानी योगा भनेर स्याँ,फ्याँ स्याँ फ्याँ गरेको पनि देख्छु । हप्ता,पन्ध्र दिनमा तातोपानीले नुहाउँदा पनि गर्धन काटे जस्तो गर्ने मान्छे,आजकलत दिनहुँ चिसोपानीले नुहाएकोदेख्छु । `लास्टमा त भास्ट´चेञ्ज पो हुन थाल्यौ ए  ! बुढा  ? केहो रहस्य ? भनेर मेरी जीवन संगिनीले, मेरै जीवनको आगत र विगतको समेत समीक्षा गर्न थालिन् ।

माडा रोटी र चियाका साथमा कोठामा छिरेकी संगिनीले चिया र रोटी टेबुलमा राखिन् । पुलुक्क मेरो मुखमा हेरेर ओठ लेप्र्याइन् । ओहो ! बिहान बिहान चिरीच्याँट्ट परेर कता ? ओछ्यानमै काँइयो ल्याइदिनुपर्ने मान्छेले त आज आफै ऐना, काँइंयो, तेल क्रिम, खोजेर ल्याइ घसेछौ त, कि कतै....? भनेर आफ्नो मनको शंकाको घेरामा मलाई छिराइन् । घामन झुलकिदै आजत सुकिलो-मुकिलो भएर कताको शुभ-साइत हो ? भन्ने प्रश्न राख्दै आफ्नो मनको जिज्ञासा मेट्न थालिन् । मैले भने, कहाँ जानू नि ! पार्टी विभाजन, होला होला जस्तो भैसक्यो। चिन्ता लाइरा´छ । सबै बर्बाद भैसकेको जस्तो गर्छन् ।

त्यसैले शहर-बजारतिरको आन्दोलनको ´राम` हेर्न जाऊँ कि भनी सत्तिएको हुँ । ए  ! कस्तो आन्दोलन हो,भेजवाला कि ननभेजवाला ? भनेर मुसुक्क मुस्कुराउँदै हेपालु पाराले प्रश्न गरिन् । म पनि के कम भनेर रिसकै झोकमा, पहिलेको हुँदासम्म होटल रेष्टुरेन्ट वैङ्कटमा बसेर बलिया, बाङ्गा, कार्यकर्तासँग सोफामा बसेर चुस्कीको आनन्दसहित टन्न हसुरेर, डम्म डकारेर मुखमा जे-जे आउँछ, त्यही बोल्ने र बोल्न लगाउने आन्दोलन `ननभेज आन्दोलन,´। भत्ता आउन छोडेपछि अरुले खुवाए भने खाने, नत्र मूला खाएर ढ्याउ-ढ्याउ डकार्दै भुँइमै बसेर जे स्वाद लाग्छ त्यै बोलेर गर्ने आन्दोलन`भेज आन्दोलन´भनेर परिभाषित गरिदिएँ । ए ! त्यसो भए आन्दोलनको मूल एजेन्डा केछ त नि ? सुन्दा न राजनैतिक विमति न त रणनीतिक विमति । `तातो न छारोको उपलब्धि समयको नाश ! गासे गासे एकै नासे' भन्ने लोकोक्तिका माध्यमबाट आफ्नो आवेग प्रस्तुत गरिन् । "स्वार्थ लिप्सा हाम्रो अडान, भेज, ननभेजको आन्दोलन ठूलो अभियान" भन्ने नारा तयार गरि चैते गाई झैं उफ्रदै हिड्ने त हौला  ? भनेर आक्रोश भित्रैबाट पनि मजाक गर्न थालिन् । तिमीले राजनीति बुझ्दैनौ क्या ! पार्टीलाई अझसक्षम,सशक्त र अग्रगमन तर्फ डोर्याइ राख्न, पार्टी भित्रै अन्तरपार्टी संघर्ष चर्किनुपर्दछ ।

एक्लैले गरे केही हुँदैन, त्यसैले सबै पार्टीहरुले गुट उपगुट बनाएर शक्ति पृथकीकरण गरेको हो क्या ! त्यसैले एउटा गुटको आन्दोलन एकातिर, अर्को गुटको आन्दोलन अर्कोतिर । सल्लाहले....यत्ति के भनेको थिएँ, "गुट बनाएका हौ कि बुढा, गोटी बन्या हौ ?" भनेर राजनैतिक मूल्य, मान्यता र आस्थाप्रति शंका गर्दै जुरुक्क उठेर, झनक्क रिसाउँदै दनक्क हिडिन् । उनीको अभिव्यक्तिमा साँच्चिकै कत्तिको दम होला ? सोच्दै भुईँ थचक्क बसें।

  • - खोपीराम लम्साल
  • krlamsal2018@gmail.com
  • हाल-चन्दागिरी १४,काठमाडौं ।
  • २०७७-१०-११

प्रतिक्रिया

सम्बन्धित खवर

Top