ट्रेण्डिङ

होमपेज / कला / साहित्य

~~ मानवता ~~

मुकुन्द कृष्ण थापा 

नेपालगाथा २०७७ भाद्र ८ गते सोमबार २०:१०:०१ मा प्रकाशित

रंगिन चस्मा लगाएर 

असत्यको पदचाप पछ्याउँदै 

मानव सभ्यताको पाठ पढ्न बिर्सिएर

हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा

नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा

खै कहिले पलाउलान् ?

सकारात्मक सोचका पालुवाहरु !

अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर 

दरिद्र सोचाइहरुमा रमाएर 

छुद्र बोली बोल्दै

भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै

बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट 

खै कहिले निस्किएलान् ?

महझैँ गुलिया शब्दहरु !!

 

अन्यायको अँध्यारो सुरुङबाट 

उद्दारको प्रतीक्षामा थरथरी काप्दै 

सहारा मागीरहेका हातहरुलाई

गरिबीले थकित भएकाहरूको आर्तनादलाई 

सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले

खै कहिले हटाउलान् ?

वर्गीयताको तुलोमा जोखिने बिभेदहरु !

मेहनत रोपी पौरख फलाउनेहरुमाथि 

रजाइँ गरेर

हीनताबोधको हिलो छ्याप्दै 

ठालु पल्टिनेहरुले

आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा

धनको गुलियो वरिपरि 

फनफनी घुमिरहेकाहरुले

खै कहिले चढ्लान् ?

विवेकका अग्ला अग्ला शिखरहरू !!

  ~~समाप्त~~

(खोटाङका मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )

प्रतिक्रिया

सम्बन्धित खवर

Top