ट्रेण्डिङ

होमपेज / कला / साहित्य

म , सपना र बुवा 

बेतेन्द्र कुमार दाहाल

नेपालगाथा २०७७ भाद्र ३ गते बुधबार २०:०९:३२ मा प्रकाशित

आज कुशे औँसी
बाबुको मुख हेर्ने दिन
बिहानै झिसमिसेमा सबैभन्दा पहिला
झ्याप्प उठेर कसैसँग नबोली
बुवाको मुहार हेर्छु भनि
हिजै ल्याएको सरप्राइज गिफ्ट
हत्तपत्त पोको पारेँ ।

सायद पहिलो दिन होला सबेरै उठेको पनि
कोहि पनि उठेका थिएनन् घरमा
निश्चल बिहान सुमसान थियो 
बाहेक केही चिरबिर आवाजहरु
कलकल बगिरहेको धारा
अनि मेरो हस्याङ् फस्याङ्को श्वास ।

ए बुवा ! ए बुवा ! कराए केहिबेर
झट्ट सम्झेँ, अरुले थाह पाइहाल्छन् की !
फोन गरेँ । बल्ल तल्ल पाँच पटकमा फोन उठ्यो 
तौलिन सकिने अवस्था थिएन मेरो खुसीको
किनकी मैले नै पहिला शुभकामना दिनु थियो ।

एउटा कालो सानो साइड ब्याग ल्याइदिएको थिएँ 
रातो प्लास्टिकमा लपरेर
कालो भादगाउँले टोपी,
निलो पाईन्ट,
सेतो सट र 
कालो हाप स्वीटरमा
मेरो अगाडि ठिङ्ग उभिएर
दुइपटक खोक्नुभयो ।
म झन खुसि भएँ ।

मुलायम हत्केलाले मेरो दाहिने हातको चोर औला समाएर 
भन्नुभयो, ‘लौ हिँड’ ।
मलाइ पनि त्यहि चाहिएको 
बुवा बिस्तारै हिँड्नुहुन्थ्यो 
म लुखुर लुखुर दौडिन्थेँ ।
आमाले सलाई किन्न पठाउदा
हिड्न सक्दैन भन्ने म
आज एकठाउँ पनि नबसि
पटाङ्गिनी पुगेँ, मनै त हो ।
कतिबेला गिफ्ट दिने हो ?
कसरी दिने हो ?
गिफ्ट दिँदा गाली गर्नुहुन्छ कि भन्ने डर पनि 
मन स्थिर रहनै सकेन ।
रघु काकाको पसलमा चिया भन्नुभयो ।
आफ्नो खल्तीबाट मरिचको सानो पोको दिदै,
‘मरिच पनि हाल्नु है’ ।

त्यतिकैमा मेरो हात च्याप्प समाएर 
चप्पलको दोकानतिर लैजानुभयो ।
म भने चिया फुुत्किन्छकी भन्दै पछाडी खिचिन्थे ।
चप्पल किनेपछि मात्र थाहा भयो,
हतारमा म त खाली खुट्टै रहेछु ।
झन खुसी भएँ, नयाँ चप्पल पाएर ।

बल्ल बल्ल बुवासँग घुम्न पाएको म
जता जानुहुन्छ, पछिपछि लाग्यो ।
म मख्ख हुन्थेँ कसैले भन्दा,
‘उनी सरको कान्छो छोरा ?’
यो भन्दा ठुलो सौभाग्य
के हुन्थ्यो र मेरा लागि !

गिफ्ट लुकाएरै राखेको छु ।
समोसा, चमेना बिस्कुट अनि के के
यिनैमा भुले म ।
‘अब घर जा’ ।
कहाँ घर जान्थेँ र म !
हजुरसँगै जान्छु भन्दै पछ्याइरहेँ ।

पटाङ्गिनीको खुलामञ्च सजिसजावट थियो ।
वरिपरिका घरहरूमा पनि रंगरोगन 
गाइगुइ हल्ला हुन्थ्यो –
आज मन्त्री आउने रे ।
मेरो मुटुको धड्कन बढ्न थाल्यो 
कारण, मन्त्री ठुलो हुन्छ भन्ने सुनेको ।
बुवा र म मञ्चको नजिकै थियौँ ।
कसैले बुवालाई बोलाएर गयो ।
‘तँ बस्दै गर म काम सकेर आउँछु’
फोन डायल गर्छु, उठ्दैन 
फोन डायल गर्छु, उठ्दैन ।

एकजना दौडेर मकहाँ आयो ।
‘सर कार्यक्रम चलाउदै हुनुहन्छ, सकेपछि फोन गर्छु रे’
कुर्दा कुर्दा, केही समयपछि फोन आयो ।
मनमनै फेरि योजना बनाएँ 
यसै मौकामा भेट्ने बित्तिकै गिफ्ट दिने 
फोन ठुलै आवाजमा घन्किरहेको थियो ।
बुवाकै फोन हुनुपर्छ लाग्यो ।
मोवायल समाएर हेरे ...
अल्राम रैछ ।
जुरुक्क उठेँ, बत्ति बालेँ ।
न बुवाको फोन आएको न त गिफ्ट मेरो हातमा ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top