ट्रेण्डिङ

होमपेज / कला / साहित्य

श्रद्धासुमन बुवाप्रति

एन्.बि. ‘प्रगल्भ’

नेपालगाथा २०७७ भाद्र ३ गते बुधबार १५:२६:४० मा प्रकाशित

हिजो अन्धकार थियो
अचानक फोन आयो कतैबाट
उठाउ कि नउठाउको दोधारबाट
मैले उठाएर
हेलो ! के भनेको थिए
उताबाट पनि हेलो ! को 
प्रतिक्रिया आयो । 
मैले चिने–चिनेजस्तो
कतै सुने–सुनेजस्तो
अचम्म त्यो त 
मेरै बुवाको बोली थियो ।

वर्षाै पछिको यो भेट
भन्नुभयो–'फोन उठाउन कति लेट ?'
त्यो आवाज
मेरो कानमा ठोक्किएर
सम्पूर्ण शरीरभरि फैलियो
एउटा छुट्टै ऊर्जा,
आँट, साहस भरियो
अन्धकार रातमा पनि 
चारैतिर उज्यालो छरियो ।
म निःशब्द, भावुक हुँदै
घुंक्कघुंक्क गरिरहें
‘के पागल हो, छोरा भएर रुन्छस् ?
समाल आफूलाई !
तेरो बुवा रोएको देखेको थिस् ?’
मैले सम्हाल्नै सकिनँ आफूलाई
झनै भक्कानिएँ
भित्र–भित्रै निस्सासिएँ ।
उस्तै 
आदेशात्मक कडा बोली
एउटा युद्ध कमाण्डरको जस्तो
ऊर्जावान्, सपाट, ट्वाक्क 
सोचें
यो बोली हो कि बन्दुकको गोली ?
मैले आफ्ना सबै पिडा पोखें
पोख्नसम्म पोखिरहें ।
भन्नुभयो– ‘संघर्ष गर सकेसम्म 
सम्झौता हैन लक्ष्यसँग
अन्य विकल्प छैन तसँग । 
बाटो देखा 
आउने सन्ततिलाई
इतिहास लेखा
पछ्याउँदै पुर्खाको वीर गतिलाई ।
तँ मेरो मात्र छोरा हैनस्
अब त राष्ट्रको भैनस् ?
डोर्याउनु भाइबहिनीलाई
इमान्दार असल बाटोमा
खर्चिनु श्रम र पसिना
यही देशको माटोमा ।
के गर्छस् बाबू !
जीवन यस्तै हो ।
मैले जे जति सकें गरें
मलाई कसैले सम्झे या सम्झेनन्
भन्ने गुनासो छैन
मैले पाएको चोट पिंडा 
कुनै प्रति दुःखेसो छैन ।
मृत्यु अघिसम्म 
जीवन खोज्दै सकिँदोरहेछ
आज भोलि भन्दै 
सोच्दा–सोच्दै सकिँदोरहेछ ।
ख्याल गर्नु,
यो महामारीमा 
हरेस नखानु जीवनमा ।

अचानक फोन काटियो
चारैतिर सन्नाटा छायो ।
म झसँग भै ब्युझिएँ 
ओछ्यानमा छामछुम गर्दा 
कतै भेटाउन सकिनँ
मेरो बुवालाई
सोचे, सम्झें 
सबै विगतलाई ।
आफ्ना सबै 
सपनाहरु जलाएर 
मेहेनती पसिनाले 
फल फलाएर 
खाने बेला हराउने 
कतै गुमनाम भइदिने 
व्यक्तित्व हो– बुवा ! 
(हार्दिक श्रद्धासुमन आदरणीय बुवाप्रति । कुशे औंशीको शुभकामना सबै बुवाहरुप्रति ।)
                                                                                                                                             

प्रतिक्रिया

सम्बन्धित खवर

Top