होमपेज / कला / साहित्य
काठमाडौं । कमेडी च्याम्पियन टिमले ‘घरघरमा कमेडी’ नामक रियालिटी शो सुरु गर्ने भएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै यस रियालिटी शो सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए ।
यस शोमा सहभागी हुन प्रतियोगीले आफ्नै घरबाट भिडियो खिचेर पठाउन सक्नेछन् । प्रतियोगीले खिचेको भिडियोलाई कमेडी च्याम्पियनको एप्समा पोस्ट गर्नुपर्ने हुन्छ, जहाँबाट निर्णायकले उत्कृष्ट भिडियोको छनोट गर्नेछन् ।
च्याम्पियनको एप्समा पोषस्ट भएको भिडियो भने दर्शकले हेर्न पाउने छैनन् । एप्समा आएका भिडियोहरू निर्णायकले छनोट गरेपछि मात्र युट्युबमा सार्वजनिक गरिने निर्देशक भण्डारीले बताए ।
अर्को साताबाट प्रतियोगिता सुरु हुने उक्त शो ५÷६ हप्तासम्म चल्नेछ । कमेडी च्याम्पियनकै फर्म्याटमा हरेक हप्ताको प्रस्तुतिबाट निर्णायकले उत्कृष्ट प्रतियोगी चुन्नेछन् ।
घरघरमा कमेडीमा सहभागी उत्कृष्ट १ जनाले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने निर्देशक भण्डारीले बताए । उनका अनुसार विजेतासँगै उत्कृष्ट ३ प्रतियोगीले सिधै ’कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ट २४ मा प्रवेश पाउनेछन् ।