ट्रेण्डिङ

होमपेज / कला / साहित्य

जब तिमी प्रेममा हुन्छौं

बिनिता बाेगटी

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार २३:००:४६ मा प्रकाशित

जब तिमी प्रेममा हुन्छौ
थुप्रै चिह्नहरू बुझ्नुपर्ने हुन्छ।
सङ्केतहरू बुझ्नुपर्ने हुन्छ
प्रतीक र बिम्बहरू बुझ्नुपर्ने हुन्छ
(कविता विना मानिसको प्रेम असह्य छ)

नि:श्वास र ढुकढुकीको गीत बुझ्नुपर्ने हुन्छ
मौनताको आवाज बुझ्नुपर्ने हुन्छ
अनुहार त हरदम पढिरहनै पर्छ
आँखा हरदम बुझिरहनै पर्छ
उनको हिँडाइको लय, सुस्केराको वजन...
आफ्नो होशलाई नै बारम्बार बुझ्नुपर्ने हुन्छ।

ऊनीसङ्ग शब्द त ठूलो कुरा हो।
त्यसको उच्चारण अघि राम्ररी बुझ्नुपर्छ
हेर्दा आफ्नै हेराइलाई पनि बुझ्नुपर्छ
चिट्ठी लेख्दा हातमा जुन कम्पन आउँछ
त्यसलाई बुझ्नुपर्छ
उनलाई सुन्दा जुन चुराको संगीत सुनिन्छ
त्यसलाई बुझ्नुपर्छ।


बस्ने तरिका बुझ्नुपर्छ
संगै बस्ता उनको ढाड कति डिग्रीमा टेढिएको छ, बुझ्नुपर्छ
हृदयको तापक्रम बुझ्नुपर्छ
रगतको मौसम बुझ्नुपर्छ।
संगै बस्दा जुन पृथ्वी अर्कै देखिन्छ
त्यसलाई बुझ्नुपर्छ


झुकेका परेलामा वायुको चाप जो छ
त्यो बुझ्नुपर्छ
मायाको बेला किन हरचिजको माया लाग्छ
बुझ्नुपर्छ
गुलाब आँखा भएर स्वर्ग किन नजिकै देखिन्छ
बुझ्नुपर्छ।

केहि नबोलेको बेला त झन्
सारा कुरा बुझ्नुपर्छ
भेट नहुँदा उनलाई छोएर आउने
बतासको कुरा बुझ्नुपर्छ
खुशी खरायोजस्तो तिव्र,
उदासी पनि किन खरायोजस्तो तिव्र बन्छ
बुझ्नुपर्छ


सबै बाटाको अन्तमा किन एउटै
मानिसको आस हुन्छ, बुझ्नुपर्छ
भूइंचालो किन सपनामा पनि
जान थाल्छ, बुझ्नुपर्छ
ईश्वर किन कहिले अति दयालु,
कहिले अति क्रूर लाग्न थाल्छ, बुझ्नुपर्छ ...

यति धेरै बुझ्नुपर्छ...
कि बुझ्नुको यो सघन व्यस्ततामा
प्रेम कहिले गर्ने हो,
प्रेम कसरी गर्ने हो,
हो.. त्यही बुझ्नुपर्छ
जब तिमी प्रेममा हुन्छौ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top