होमपेज / कला / साहित्य
आँसु सरह रित्तिएका छन्,
सपना।
प्रेम सँगै रित्तिएको छ,मन ।
रित्तिएकी छु, म आफूसँग
आफैँ ।
पहिलो पटक रित्तिएको त
मात्र प्रेम थियो,
रित्तिएको प्रेमले
आफैंलाई रित्याइदियो ।
प्रेम सम्झने बित्तिकै मैले
सम्झने उसलाई
कसरी बिर्सन सकाैला र !
तिमीसँगै हिडेका
सुनसान गल्लीले
सोध्छन्, तिम्रै खबर।
आफ्नै खबर सँग बेखबर
मैले,
के सुनाउ तिम्रो खबर ?
मलाई छोडेर, म जस्तै
खोज्ने तिमीलाई
कसरी बुझाउँ, म जस्तै हुनु
र म हुनुको फरक।
भताभुङ्ग भएका छन्,
सम्झना,
सपना,
प्रेम।
तिमी छाै जस्तो लाग्दा पनि
तिमी हराएको छाै।
एकान्तमा शान्त हुदैंन मन,
तिम्रो यादले।
सायद हरेक एकान्त
तिम्रो र मेरो प्रेमको
सामिप्यताको साक्षी भएर
होला।
प्रेम जस्तै याद,
साथ जस्तै एक्लोपन,
दिल जस्तै देखेका सपना,
तिमीले लगिदिएको भए
सायद आज,
म तिमीलाई बिर्सेर
आफू सम्झिरहेकी हुने थिए।