ट्रेण्डिङ

होमपेज / कला / साहित्य

विडम्वना !!

चुच्चे को चासो

नेपालगाथा २०७७ बैशाख ९ गते मंगलबार १८:४६:५२ मा प्रकाशित

लखर-लखर गर्दै कति बाहिर हिडेकी होली ! जनताको जीऊ ज्यानको सुरक्षाका लागि यो भयावह महामारीबाट बचाउन लकडाउन बाहेक अरु केही नभएकोले ,जो जहाँ छौ ,त्यहीं घर भित्रै बस भनी सरकारले आह्वान गरिरहेको छ , तर तिमी भने अटेरी झैं बाहिर निस्केको निस्केइ छ्यौ। बुझ्नेले नबुझेकालाई समेत बुझाउनु पर्नेमा आफै बाहिर हिडेर ... ।" यत्ति के भनेको थिएँ ,हाँडीमा भुट्न थालेका मकैका फूला (लावा) उठे झैं मेरी जीवनसंगिनीको बज्रवाणी फुर्न थाल्यो ।

"लकडाउन छ भनेर एकछिन पनि बाहिर ननिस्कने होला र! 'अल्क्षे तिघ्रो स्वादे जिब्रो 'भने झैं खाने बेलामा त हजुरहरुलाई नै मीठो-मीठो चाहिन्छ नि । ताजा -ताजा चाहिन्छ नि । आफू भने लकडाउन छ भनेर एकछिन पनि बाहिर ननिस्कने ,वरको सिन्को पर कसैले सार्ने होइन , कति घरभित्रै कोच्चिएर बस्ने हो ? यसो बाहिरतिर ,निस्केर फ्रेस पनि हुने , तरकारी पनि किनेर ल्याउने भनेर निस्केकी हुँ ।

आजभोलि तरकारीको मूल्य घट्या छ।यही बेला दुई -चार मुठा किनेर ल्याउँछु भनेर निस्केकी हुँ ।म मात्रै निस्क्या हो र ! , बाटोभरि मान्छे छन्, पसले कहाँ त खुट्टो समेत राख्ने ठाउँ हुँदैन । छिमेकीपसलेहरुले अलि महङ्गो गर्छन् , त्यसैले बाटोमा राखेका डोकेसंग किन्यो भने सस्तो पनि हुने भनेर 'वेथे'को साग र 'खोले' साग ,शुद्ध अर्गानिक पनि हुने भनेर जानेगर्दछु ।म मात्रै गा'को हो र ,अरु पनि त हुन्छन् ।मेलै लाग्या जस्तो हुन्छ । खोइ ! कता त तरकारी भनेको मूल्यमा नबिकेर बारीमा नै उखेलेर फाले रे!

दुध समेत त नबिकेर सडकमा ल्याएर पोखे रे! भन्दै डोकेसाहु देखि बोकेसाहु सम्म,चल्ले साहु देखि दुधे साहुसम्मको बिजोगको इतिवृत्त सुनाउन थालिन् । अघि पछि पनि मृदु वचनको अभिव्यक्तिमा समेत प्रतिवाद गर्न नसक्ने मेरो प्रवृत्ति थाहा पाएकी जीवन संगिनीले कुरै कुरामा स्वतन्त्रता सम्मको व्याख्या गर्दै आफ्नो हिडडुलमा समेत प्रतिबन्ध लगाउन खोजेको "भन्दै आरोप लगाउन समेत पछि परिनन् । तैपनि विस्तारै उनलाई संझाउदै भने, "हेर,तात्तिएर,मात्तिएर र आत्तिएर मात्र केही काम गर्न पनि हुदैन,समय ,परिस्थिति र वातावरणलाई समेत बुझ्न सक्नुपर्छ ।

तरकारी उखेलेर फाल्नु भन्दा लौका, फर्सी र काउलीजस्ता तरकारीलाई चाना बनाएर राख्ने,साग,पिडालु जस्तालाई उसिनेर गाभा बनाउने, पिँडालुको डाँठबाट चु्ल्ठे (कतै,'लट्टे ' पनि भनिन्छ) बनाउने , मस्यौरा बनाउने ,भिण्डी,गाजर र करेलाको अचार बनाउने,नसके सुकाउने ,मूलाको गुन्द्रुक बनाउने,अचार बनाउने र चाना बनाएर राख्ने गर्नु प-यो । दुध पोख्ने होइन, त्यसबाट बन्ने परिकार बनाउने हो । दुधबाट खुवा बनाउने, कुराउनी बनाउने,पनिर बनाउने, बर्फी बनाउने छुर्पी बनाउने, घिउ बनाउने पो गर्नुपर्छ । रुपमा परिवर्तन गर्न सक्नु प-यो नि , बुद्दि लगाउनु प-यो नि ।

लकडाउन खुल्यो भने त ती सबै बिक्री भैहाल्छन् । संकटको घडीमा सबै सचेत बन्नुपर्छ । त्यसैले हेर! तिमी पनि अहिले तरकारीको मुल्य घट्यो भन्दैमा,दोकानमा ,बाटोमा,भिड लगाउने होइन ।कतै कोरोना भएका मानिससंग सम्पर्क भएर स-यो भने मृत्यु पनि हुनसक्छ । एक जनाबाट समुदायमा सर्न सक्छ ।यसको औषधि अहिलेसम्म पत्ता लागेको छैन । तिमी दुई चार दिन बाहिर ननिस्किएर जीवन सुरक्षित हुन्छ एकदुई दिन कष्ट पनि सहन सक्नु पर्छ ।अहिले तिमीले तरकारीको मूल्य घटेको त थाहा पायौ ,पहिलेको भन्दा दुई चार पैसा घटेको छ भन्ने मानेकी छौ तर त्यही तरकारी लिन जाँदा रोग सरेर आयो भने जीवनको समाप्ति नै भयो भने तिमीले आफ्नो जीवनको मूल्य नबुझेको ठहर्छ ।

त्यसैले हेर आजको मानव समुदायले अरु वस्तुको मूल्य थाहा पाउन सकेको छ,तर आफ्नो जीवनको मूल्य थाहा नपाएर आफ्नै जीवन माथि खेलबाड गरिरहेको छ । यत्ति के भनेको थिएँ, छेवैमा बसी चासो मानेर सुनिरहेका छोरा छोरीले समेत सहमति प्रकट गरे , ठीक हो बुबा !,आजको हामी मान्छेले अरु वस्तुको मूल्य थाहा पाउने भयौं तर आफ्नो जीवनको मूल्य थाहा नपाउने भयौं । कस्तो विडम्बना है !! ।
( २०७७-१-७ सुर्खेत )

प्रतिक्रिया

सम्बन्धित खवर

Top