ट्रेण्डिङ

होमपेज / कला / साहित्य

नव -वर्षको शुभकामना

चुच्चेको चासो

नेपालगाथा २०७६ चैत्र २९ गते शनिबार १९:०८:१६ मा प्रकाशित

आदरणीय आमा !
नमस्कार

"पूज्यनीय भनेर लेखूँ भने, आमाले पो छोरीलाई पुज्छन् । छोरीले आमालाई पूजा गर्ने होइन भनेर सिकाउनु भयो । आमाको मुख हेर्ने चलन नचलेको भए त छोरीले कहिल्यै पनि आमालाई पूजा गर्न पाउँदैनथे कि जस्तो लाग्छ ? आफ्नै जन्मदिने आमा-बुवालाई छोरीलेमात्र पूज्यनीय लेख्न नपाउने यस्तो पितृसत्तामक व्यवस्थालाई अन्त गर्नु पर्छ भन्ने कुरामा नारीवादी समाजको आवाज किन नउठेको होला ?"आ! जे सुकै होस्।
आमा! हामी आराम छौ। तपाईंहरुको सुस्वास्थ्यको लागि कोरोनेश्वर महादेवसंग प्रार्थना गर्दछु । खासै उल्लेख समाचार त केही थिएन तैपनि आमाको मायाले सताएर मात्र यो पत्र लेख्दैछु ।
आमा ! यो कोरोनाको भयले भएको लकडाउनले हाम्रो घरपरिवारमा पनि शान्ति छाएको छ। अफिसमा पाँच बजे छुट्टी भएपनि राति दश बजेतिर खुट्टा लरखराउँदै र बोली लरबराउँदै ,घर आउने तपाइँका ज्वाइँ पनि आज -भोलि अफिस र रक्सी पसल दुबै बन्द भएकाले कतै निस्कन सक्नु भएको छैन ।घरै बस्नु हुन्छ। आज -भोलि त लोग्ने स्वास्नीको झगडा पनि परेको छैन त्यसैले म पनि खुसी छु ।छोरा -छोरी पनि स्कूल जान र होमवर्क गर्न नपरेको कारण खुसी छन् । जे देख्यो त्यही सामान चाहिएको छ र पछि पनि चाहिन्छ भनेर किन्नेवाली म पनि बजार र हप्तामा ब्युटीपार्लर जान नसकेकाले तपाईंका ज्वाइँ पनि खुसी देखिनुहुन्छ ।

आजभोलि त कोठामै बसेर;
गर्नु गर्यौ कोरोना, तिमी आएर
दुनियाँलाई हँसायौ,घरमा राखेर ।। भन्ने गीत गाउँदै टिकटक बनाएर बुढा-बुढी मज्जाले नाचिन्छ।बल्ल त बैंश आ'को जस्तो भा'छ । पैसा पनि बच्दो रहेछ ! अहिले त न बदाम बेच्ने आउँछ,न त सुन्तला बेच्ने आउँछ ।न ,ओइ ! माछा भन्दै कराउन आउँछ नत कुकर बनाउने छ्याङ् छ्याङ बजाउदै आउँछ ।चाट बनाउने पनि छैन,पानीपुरी ख्वाउने पनि छैन । न म. म .पसल खुला नत सुकुटी पसल खुला । आजभोलि त आमा तपाईंले पठाइदिएको मस्यौरा ,लट्टे,सुकाएको गाभा, सिन्की,मूलाचाना,लौकाचानालाई सुकुटी भन्दै पो खान्छौं । तपाईंका ज्वाइँलाई सु'का प'का का तरकारी मनपर्दैनथ्यो । कहिलेकाहीँ मुख फेर्न पकाउँदा पनि बाहिरैबाट नाक-मुख खुम्च्याउँदै भान्छाकोठा पस्ने मान्छे, अहिले त तिनैसंग भात सपासप ...।
आमा! अस्ति चैते दशैमा पनि जान पाइएन । यसपटकको बैशाखे संक्रान्तिमा पनि आउन नपाइने भयो । यस बर्षको नयाँ बर्ष पनि पोहोर मनाएको नयाँ बर्ष संझेर बस्नुहोला । मौका छोपेर भाइ -बहिनी सुटुक्क निस्केलान् नि ।हुनत सबै पिक्निक स्थल,पार्क पनि बन्द होलान् ।यसपटक नयाँ बर्षमा बियर तन्काउने देखि डियर पट्याउने सम्मको मौका पनि धेरैको गुम्छ होला । विदेशतिर बाट पनि अरु भाइ- बहिनीहरु पनि आउँदैनन् होला ? के गर्नु ? आमा!,छोरी-ज्वाँइ पनि आएनन् नभन्नु होला ।चैते दशैं, बैशाखे संक्रान्ति नववर्षमा आउन नपाए पनि त्यसको क्षतिपूर्ति समेत आउँदो दशैंमा मजाले बसेर गरौंला ।
अन्तमा , नववर्ष २०७७को आगमनको पावन उपलक्ष्यमा सबै दाजु-भाइ, दिदी-बहिनीहरुको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना यसै पत्र मार्फत सबैलाई टक्र्याउँदा नजिकै बसेको कामदार चुच्चेले पनि चासो राखेर टाउको हल्लाउँदै मेरो पनि शुभकामना भनेको छ ।
उही छोरी
संत्रासी, सुर्खेत

२०७६ -१२- २९

प्रतिक्रिया

सम्बन्धित खवर

Top