ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कोरोनालाई पत्र

चुच्चेको चासो - व्यङ्ग्य

नेपालगाथा २०७६ चैत्र २९ गते शनिबार १८:०३:३८ मा प्रकाशित

प्रिय कोरोना !
प्रिय भनूँ कि प्यारो भनूँ ? देखिदैन ! देखे पो, प्यारी हो कि प्यारो हो ? छुट्याउन सकिन्थ्यो ।नाम 'कोरोना' भएको हुनाले तिमी पनि महिला नै हौली भन्ने लागेको छ। किनभने हाम्रो आर्याब्रत हिमवत्खण्डमा महिलाको नामको पछाडिको वर्णमा 'आ' जोडेर आउने हुँदा, जस्तै जमुना,,राधा,शारदा,दीपा, बालिका, नर्मदा,यशोदा,कमला,गमला, यमुना, करुणा आदि।यदि तिम्रो जन्म नेपालमा भएको भए अवश्य नै तिम्रो नाम 'करुणा' हुन्थ्यो तर तिमी नेपाल बाहिर जन्मिएका कारण 'कोरोना' नाम रहन गएको होला ,त्यसैले तिमी महिला नै हौ कि? भन्ने म लगायत अन्य परिवारका सदस्यको प्रथम ठम्याइ रहेको छ ।

डिएर! सुनेको छु !तिमीले अंकमाल ग-यौ भने त मान्छेले पनि स्वर्गीय आनन्द पनि पाउँछ रे ? तिमीले पनि अंकमाल गर्न पायौ भने,गोरो,कालो, नेप्टे,चेप्टे, चुच्चे केही पनि भन्दिनौ रे ! पु्ड्के र नेप्टे खोज्न पहिले पहिला चिनतिर लाग्यौ रे !थेप्चे खोज्न कोरिया पुग्यौ रे!गोरो खोज्न इजरायल देखि अमेरिका सम्म पुग्यौ,कालो खोज्न तेलङ्गाना देखि अफ्रिका सम्म पुग्यौ रे ? तिमी त समावेशी प्रजातन्त्र जस्ती पो रहिछौ भन्ने मैले अडकल काटेको छु ।रिरी बाजाले रेटे रेटे पारे अनुसार तिमीले महिलालाई भन्दा पुरुषलाई बढी अँठ्याउछ्यौ रे ! त्यसैले तिमी पनि सुर-ताल नभएकी महिला नै हौली भन्ने मेरो दोस्रो ठम्याइ रहेको छ, त्यसैले मैले तिमीलाई प्रिय, अङ्ग्रेजी भाषामा 'डियर 'भनेर सम्बोधन गर्दैछु ,तर रिसाए पनि खुसी भएपनि भेटमा झ्वा्म्मै अंगालो भने नहाले है । किनभने यो बर्ष चैते अष्टमीमा ब्रत बस्न छुटेकाले,मेरै घरका अन्य सदस्यहरुसंग पनि नछोइएर एक-दुई मिटरै टाढा बस्ने गरेको छु ।

प्रिय ! तिमीलाई नयाँ वर्षमा खुबै डुल्न मनलाग्छ रे ? अङ्ग्रेजी वर्ष र क्रिसमस मनाउदै थुप्रै देश गइसक्यौ रे ! पछि जाडो हुन्छ भनेर पहिले चिन गयौ रे ! त्यहाँ पढ्न गएका नेपाली विद्यार्थीहरुले तिम्रो डान्सको वर्णन गरेको सुनेको थिएँ ।त्यसपछि जे जस्तो भएपनि गोरा नै ठीक भनी ,सलक्क जीउ डाल परेका युरोपेलीसंग खुब नाच्यौ रे । इजरायलीहरुसंग धेरै नाचेर उनीहरु धेरैलाई स्वर्गीय आनन्द प्रदान ग-यौ रे ? अमेरिका पनि पुगेर नयाँ वर्ष खुबै मनायौ रे ! म नै सबै भन्दा सिपालु नृत्यकार भन्ने ट्रम्पलाई समेत थकाएको सुनें । बेलायत देखि ब्राजिलसम्म, सुडान देखि बुहानसम्म, कतार देखि कोरिया- सम्म ,भारतदेखि भुटान सम्म जापान देखि जाकार्ता सम्म पनि नाचिसक्यौ भन्ने सुनेको छु।

डियर! हाम्रो नेपालमा पनि नयाँ वर्ष आउँदैछ तर यता चाहिँ नआए है । अङ्ग्रेजीको नयाँ वर्ष र नेपालीको नयाँ वर्ष धेरै कुरामा मिल्दैन क्या । भाषै मिल्दैन,जातै मिल्दैन,बातै मिल्दैन उनीहरुले पिकनिक भन्छन्, हामी वनभोज भन्छौं । उनीहरुले वाइन भन्छन् हामी छ्याङ भन्छौ । उनीहरुले मिट भन्छन्ं हामी मासु भन्छौ। उनीहरुले 'बफ' भन्छन् हामीले 'कबाफ' भन्छौ।खाने तरिकै फरक । उनीहरु कतिपय काँचो खान्छन् , हामी सबै पकाएर खान्छौं । उनीहरुले काँटा चम्चाले खान्छन्, हामीले हातले सपासप पार्छौं । उनीहरुले पिउँछन्,हामीले चपाएर खान्छौं । अरु अँझै कति कति पो फरक छ ! अरु के भनूँ। उनीहरुको र हाम्रो हग्ने तरिकै फरक छ।

उनीहरुलाई कम्बोड नभए दिसै आउदैन,हामीलाई बारीको डिल र खेतको आली नभइ दिसै आउदैन। उनीहरुले दिसा कागजले पुछ्छन् ,हामीले पानी नभेटे गाउँ घरमा डल्लाले पुछ्छौं।सकभर पानी खोज्छौं ,पानी भेटाए पानीले पखाल्दै हातले धुन्छौं । त्यसकारण डियर यता आउँदै नआए । फेरि कतै विदेशतिर बरालिएका उरन्ठेउला नेपाली युवा -युवतीहरुको पछि लागेर आउले नि ।सके एअरपोर्टबाटै फर्कनु पर्ला नभए क्वारेन्टाइन पाहुन घरमा बस्नु प-यो भने तिम्रो त हरिबिजोग हुन्छ । कसैको उस्काहटमा लागेर राति-राति हिँडेर आउने कुम्ले दाजु -भाइ दिदी -बहिनी संगआउले नि। सीमा नाकामा चाकामा ठेला पर्ने बेला सम्म बस्नु पर्ला ।

प्रिय!' नचिन्दा को हो को हो ,चिने माया भने'झैं यहाँ आउन नै ठीक छैन । जुठो पनि लाग्या छ ।तिमीहरुलाई पो जुठो-सुठोको मतलब हुन्न ।हामीले त बाह्र- तेह्र दिन सम्म बार्छौं ।दश दिनसम्म छुट्टै कोठामा बस्छौं ।कसैसंग छुइछाइ (छोइछुतो)गर्दैनौं । शुद्ध सादगी एक छाक मात्र खान्छौं।अदुवा ,आलु,काँचो केरा खान्छौं। बिचक्री्लाई त भित्रै पस्न दिंदैनन् । सबैले यस वर्ष नेपालमा नयाँ वर्ष नमनाउने भनेकाछन् । त्यसको सट्टामा भदौ,असोजतिर मनाउने कुरो चल्दैछ। त्यत्रो समय तिमी बस्नुको कुनै औचित्य पनि छैन । तसर्थ नेपालको यात्रा बेलैमा क्यान्सिल गर ।

यस वर्षमा बोका राँगा, कुखुरा,हाँस,सुङ्गुर, बङ्गुरको समेत संयुक्त बैठकले निर्णय गरेेर नयाँ वर्ष भव्य रुपमा नमाउने भनेर 'बोका संरक्षण बाख्री अधिकार मञ्च'को लेटर प्याडमा व्यक्तब्य निकालेका छन्। त्यसैले स्नेही कोरोना यता आउँदै नआऊ । अन्य देशमा नयाँ वर्षमा नाचिसकेकी छौ। अब चूप लागेर बस ।चूप लागेर बस्नुमा नै तिम्रो कल्याण छ । तिम्रो उखरमाउलो नाच सबैले टिभीमा हेरिसकेका छन्। अब तिमीसंग कोही नाच्नेवाला छैनन् । यस्ती बेसुरी नर्तकीसंग को नाच्ला ?भनेर सबै सजग सचेत भएका र हुँदैछन ।
उही तिम्रो
मनुवा प्रसाद संत्रासी

२०७६-१२-२७

प्रतिक्रिया

सम्बन्धित खवर

Top