होमपेज / कला / साहित्य
फुल्दैछन गुलाफसरी भै यिनी, मेरा कोपिलाहरू l
खुल्दैछन पत्र पत्र यिनी मेरा, आधार शिलाहरू ll
ll १ ll
डुल्दैछौं चारो बटुल्न रन बन, यिनी बचेराकन l
हुल्दैछौँ लगाई चुकुल एक्लै, यिनिलई डेराकन ll
ll २ ll
यिनकै चल्छ शासन घरमा, यिनकै बोली कानून l
मागीदिए पुगीगो यिनलाई, आकाशका तारा जून ll
ll ३ ll
घरी चढ्छन काँधमा यिनी, घोडा बनाउछन घरी l
राखी माग गर्छन् आन्दोलन, यिनकै चल्छ मनपरी ll
ll ४ ll
के खेलान् हुर्केलान् बढ्लान कसोरी, यी लालाबालाहरू l
के पढ्लान सिक्लान आनीबानी खै, यी चालामालाहरू ll
ll ५ ll
चिन्ता लागिरहन्छ यिनकै, कहाँ गए के गरे भनी l
फुली सुवास दिउन जगतमा, अरू जे गरे पनि ll
ll ६ ll
जे जसो गरी बोले पनि यिनकै, लाग्छ बोली अमृत l
रोई चिच्याए भने यिनी कतै, कराउँछु यिनै सित ll
ll ७ ll
फिजाई पखेटा स्वतन्त्र भई, उड्लान यी कैले आफै l
फक्रिदो गुलाफ सरि यिनलाई, देखुला मैले आफै ll
ll ८ ll
देख्न पाउँ सुखी सन्तुष्ट यिनी, चम्किला चेहेरा सदा l
लेख्न पाउँ शुभ समाचार यिनी, मेरा बचेरा सदा ll
ll ९ ll
चम्किउन ध्रुवतारा सरी यिनी, मानव आकासमा l
लम्किउन प्रगतिपथ यिनका, आत्मीय आभासमा ll
(मिति २०७६ चैत्र २६ गते होम क्वारेन्टाइन @ लकडाउन : शार्दूलबिक्रिडित छन्दमा पहिलो प्रयास)