होमपेज / कला / साहित्य
"घरमा खाने चारो सक्किन लाग्यो ए ! बड्डा ( लोग्ने) । दुईचार दिन पैल्यैबाट भन्द्याइछु । कसरी, कहाँ र कति जोहो गर्ने हो ? अब सोच्नु पर्यो है । स-साना छा-छोरीहरु पनि छन् । उनीहरुलाई पनि बचाउनु पर्यो, आफू पनि बाँच्नु पर्यो ।" भन्दै जीवन र जगत, जन्म र मृत्युको भयावह अवस्थाले निम्त्याउन थालेको संकट अवस्थामा गम्भीर बनेर आफ्नो भाव प्रकट, मेरी जीवन संगिनीले एक मिटर परै बसेर गरिन् ।
सोचौंला, यो भयावह स्थिति हाम्रो एक-दुईवटा घरमा मात्र आउने होइन । तैपनि मर्नै लागियो भने जगमान जिम्दार (जमिनदार)का घरमा गएर भए पनि जोहो गरौंला नि, भनेर सान्त्वना दिन थालें । "अँ ! अहिले पनि जिम्दार रहिरह्या होलान् ! सक्के अब जिम्दार- सिम्दार । भएभरको खेत, बारी जग्गा दलाल अरे ! दलाल भन्न पाइन्न क्यारे, भूमि खरिद -बिक्री वितरण व्यवस्थापन सहयोगीलाई बेचे ।
तिनीहरूले भात खान दिने खेतलाई घरेली ( घडेरी) बनाए । खेतमा ढुंगा, गिट्टी र बालुवा थुपारे । काँ छन् खेत ? खेत पनि सक्के जिम्दार -सिम्दार पनि सक्के ! २५ बिघाह भएका २ कट्ठामा झरे ।१० बिघा हुनेहरु १ कट्ठे भए । १ कट्ठे मिटरे भए, मिटरे धतुरे भए । काँ छन् अब जिम्दार ? सरकारको भूमि सुधार आयोगले समेत उन्मूलन गर्न नसकेको जमिनदारी प्रथा दलालले दुई चार बर्षमै उन्मूलन गरिदिए । दिन्छन् अब तिम्रा जगमाने जिम्दारले तिमलाई चारो ! आफैले त प्लाष्टिकका झोलामा चामल किनेर खान्छन् । गर्छन् तिमीलाई सहयोग ।
'जहिले खाए खीरै खीर,गए उतैतिर'। पसलेले समेत उधारो नदिएर कालो अनुहार लगाउँदै ङिचिक्क हाँस्दै हिँडेका जिम्दारहरुलाई मेरा यिनै फुट्न नसकेका आँखाले कति पटक देख्या छन् कति पटक, "भनेर जिम्दार गाउँका जमिनदारहरुको नालीबेली सुनाउन थालिन् । ए ! बाबा ! हिङ नभए पनि हिङ बाँधेको टालो हो ।माग्नै गए कसो नदेलान् ? अर्को कुरा यस्तो राष्ट्रिय, अन्तर्राष्ट्रियलाई समेत कोरोना रोगको संक्रमणले संकट पारेको बेला केही दिन हामी सबैले अलिकति कष्ट पनि सहे के होला?
हामी सबै मिलेर रोगको समस्या हटाउन सहयोग गर्यौं भने भोकको समस्या समाधान त सरकारले हटाइ हाल्छ नि । अन्तबाट मागेर ल्याएर भएपनि आफ्नो देशका जनतालाई पाल्छ । त्यो त राज्यको कर्तव्य र दायित्व हुन्छ भनेर संझाए । अहिले हामीसँग भएको चामल,पीठो जे छ त्यो पकाएर खादै गरौं । अभावमा मीठो मसिनोको कुरै नगर । भातको ठाउँमा चामलमा अलि धेरै पानी हालेर माड बनाउँला,खाउँला । तरकारी करेसा बारीमा होला, नभए छिटो उम्रने साग लगाउँला । भात कम खाने साग सब्जी बढि खाने ।
यत्ति के भनेको थिएँ, "खाएँ त्यै खोले साग। तिमीले खाए । पेटभरि खाए, म पकाइदिउँला "भन्दै ठसक्क गरिन् । राष्ट्रिय, अन्तर्राष्ट्रियलाई महासंकट परेकोबेला अलिकति दु:ख पनि सहनु पर्छ। संकट सबैलाई पर्यो भने विभिन्न संघ, संगठनहरु नेताहरु सबै राहत रासन बाड्न आइहाल्छन् नि । बरु घरभित्रै अलग -अलग कोठामा बसौं भनेर प्रस्ताव पेश गरें । अमिलो अनुहार लगाउँदै भनिन्,"अँ ! आउँछन् यस्तो बेलामा तिम्रा नेता ! खै कहाँ गए अहिले ? चुनावताका राति-राति गाउँका गाउँ भोज खुवाउने। भैँसी खानेलाई भैंसी,सुङ्गुर खानेलाई सुङ्गुर,खसी खानेलाई खसी,माछा खानेलाई माछा, जसलाई जे खान मन छ खाओ भन्थे ।सुतेको बेलामा पनि राति- राति, चप्पल बाड्न आँउथे। खै ! कुन गाउँ हुन् ?
एउटा गाउँमा दाहिने दाहिने चप्पल अर्को गाउँमा देब्रे, देब्रे चप्पल बाडेँका थिए रे,! युवाहरुलाई टिसर्ट, युवतीहरुलाई मिनिस्कर्ट, संस्थाहरुलाई बल, प्रचारकका लागि बोतले जल दिएर पिपलको बुटानेर बसेर खुबै भाषण छाँट्थे ।मेरो जीत भनेको तपाईंहरुको जीत हो, तपाईंहरुको जीत हुनु मेरो खुसी भन्थे । सुख दुःखको साथी हौं भन्थे । खै ! त ! आज तिनीहरूको गाउँमा मुखै देखिन्न ।
देश ,विषम परिस्थितिमा छ, जनताले लकडाउनको समस्या झेल्दैछन्।, जता-ततै संत्रास छ ।जनताले दु:ख झेल्दैछन् ।,खै ! त ! नेताहरु गाउँ -गाउँमा राहत लिएर बाँड्न हिंडेका ? हिजो चुनावमा भतेर लगाउनेहरुले खोइ त आज जनतालाई राहत रासन बाँड्न सकेको ? किन आज राज्यको राहतकोषमाआफ्नो पारिश्रमिकको केही हिस्सा दिन नसकेको ?
चुनावमा घर- घर ,खेत- खेत बारी-बारी नमस्कार भन्दै हिड्नेले आज यो संकटमा कसरी बसेका छौ,? के खाएका छौ ? भनी किन घर-घरमा पुगेर सोध्न सक्दैनन् ? हिजो टिसर्ट मिनिस्कर्ट बाड्ने ले आज मास्क समेत किन बाड्दैनन् ? परीक्षणका लागि एउटा क्वारेन्टाइन कोठा किन बनाउन सक्दैनन् ?
जे जस्तो भोग्नु छ आफैले भोग्ने हो, त्यसैले यो विषम परिस्थितिलाई सामना गर्न आफै सुरक्षित बसौं र अरुलाई पनि सचेत गराऔं, कोरोना भाइरससंग बचौं" भनेर सोप केशमा राखेको साबुन लिएर बाल्टिनमा राखेको पानीले हात धुन थालिन् । उनको यो तीतो यथार्थ र सचेत व्यबहारले मलाई केही बोल्न परेन ।
२०७६-१२ -२२, सुर्खेत