होमपेज / कला / साहित्य
मानव सभ्यताको क्यानभासमा
जिवन्त सजिएका
तिम्रा वास्तुकला र मूर्तिकलाले
युनानी सभ्यतालाई समेत जिवन्त बनायो,
किनकि,
तिमिले आगस्टस र सिजरहरु जन्मायौ ।
तिमिले सिकाएका रोमन स्क्रीप्टले
ल्याटीन हुँदै अङ्ग्रेजी भाषाको साम्राज्य जमायो,
तिमिले नै बिश्वलाई ज्ञान र दर्शनशास्त्र सिकायौ,
किनकि ,
तिमिले नै गैलने र सेनेकाहरु जन्मायौ ।
सिसिरो र ल्युकेशियसहरु जन्मायौ ।
तिमिले नै सिकायौ, भाषा, साहित्य र सस्कृती
किनकी,
तिमिले नै वर्जिल, होरेस, मार्कश आदि जन्मायौ ।
तिमिले नै हो दुनियाँलाई सिकाएको
प्रजातान्त्रिक मूल्य मान्त्यता र शासन व्यवस्था,
कानुनी राज्य र बिधिको शासन,
किनकी,
तिम्रो साम्राज्य र सभ्यतामै जन्मिएका हुन
जुसजेनिशयम, जस्टिनियन कोड र
थियोडोसियन कोडहरु ।
तिमिले नै हो थालनी गरेको
आधुनिक बिज्ञान - प्रबिधि,
अध्ययन, अनुसन्धान र अन्वेषण,
किनकि
तिमिले नै जन्माएकी हौ प्लीनी र टोलेमीहरु ।
आज विश्व तिम्रो क्यारेन्डरमा चलिरहेको छ
किनकी
तिमिले जन्माएकी थियौ जुलियस सिजर
अनि सिजर क्यारेन्डर ।
हो , तिमिले नै हो !
दुनियाँलाई सिकाएको
आधुनिक चिकित्सा बिज्ञान ,
हरेक नगरमा चिकित्सालय ,
गरिबहरुलाई नि:शुल्क चिकित्सा सेवा,
किनकी,
तिमिले नै जन्माएकी थियौ गेलेन र सेत्सुकहरु।
।।१।।
प्रिय रोम,
स्मृतिका सजिव चित्रहरु
नयनभरी नियालेर
त्यो आत्मीय अङ्कमाल,
रोमसङ्गको त्यो रोमन्स,
भिटर्बोका भाइब्सहरु,
भेनिसका भर्जिन भ्वाइसहरु ,
मेल्पान्सो र मिलानोसङ्गको मिलन
सम्झिदै
म भक्कानीरहेछु !
तिम्रा टिलपिल टिलपिल गह भरिएका
नयनहरुसङ्ग नयन जुधाउन
सामर्थ्यहिन छु ।
एक निरीह पात्र
म विवश छु !
तिम्रा सभ्य गिर्जाघरहरुमा
कोरनाले बनाएका
तिम्रा वर्तमान र भविष्यहरुका
स्मृति स्तम्भहरुमा
केवल शब्द श्रद्धाञ्जली अर्पण गर्न ।
जलीरहेको रोम हेरेर
बासुरी बजाइरहेका निरोहरु
अनी
रोइरहेको रोम हेरेर
निरीह बनिरहेका छिमेकीहरु देखेर
म सम्झिरहेछु !
तिम्रा बिरताका गौरवपुर्ण गाथाहरु
विश्वयुद्धका नायक मुसोलिनीहरु !
म सम्झिरहेछु !
हेनरी ड्युनाहरु र फ्लेरेन्स नाइटिङेलहरु !
।।२।।
प्रिय रोम !
सभ्यता र साम्राज्यको जननी तिमिलाई
म सगरमाथाको सन्ततिको तर्फबाट
सगरमाथा जत्तिकै अदम्य आत्मविश्वास
र उच्च मनोबल दिन सक्छु ।
बुद्धको दुतको तर्फबाट
विश्व शान्तिको कामना गर्न सक्छु ।
हिमालय पर्वत कैलाशपतिको
आराधना र आशिर्वाद पठाउन सक्छु ।
पुर्वीय दर्शन र सभ्यताको कसम
खादै
तिम्रो सिघ्र सुस्वास्थको शुभकामना !
सिघ्र सङ्कट मोचनको कामना ।
*******************************
(२०७६ चैत्र २२: होम क्वारेन्टाइन : विरेन्द्रनगर , सुर्खेत )