होमपेज / कला / साहित्य
सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’ ले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि सिनेमाको रिलिज मिति प्रभावित भएको छ । यो सँगै वैशाखको तेस्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति तय गरेका चलचित्रको रिलिज प्रभावित हुने भएका छन् । सरकारको यो निर्णयसँगै चैत्र २८ गते रिलिज हुने तयारीमा रहेका २ चलचित्र ‘चपली हाइट ३ र प्रेमगीत ३’को रिलिज मिति प्रभावित हुने भएको छ । यी दुई चलचित्रका निर्माताले प्रदर्शन मिति पछि नसरेको बताउँदै आएका थिए । अब, भने यी दुई चलचित्र पनि पछि सर्नुपर्नेछ ।
यस्तै, वैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २ र हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित छ । चैत्र २१ मा रिलिज मिति तोकिएको चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति स्थगित भैसकेको छ । वैशाखको अन्तिम साता रिलिज हुने भनिएको चलचित्र ‘हिरो रिटन्र्स’को रिलिज मिति पनि प्रभावित हुने सम्भावना बढेको छ । यसले, आउँदो वर्ष नेपाली चलचित्रको रिलिजको सेड्यूल भद्रगोल हुने पक्का छ ।