ट्रेण्डिङ

होमपेज / कला / साहित्य

चार दशकका घटना समेटिएको ‘नेपाल भारत र छिमेक’ पुस्तक विमर्श

नेपालगाथा २०७६ फाल्गुण ६ गते मंगलबार २०:३७:०६ मा प्रकाशित

सुर्खेत, नेपाल र भारतबीचका चार दशकका मुख्य घटना समेटिएको पुस्तक ‘नेपाल भारत र छिमेक’ पुस्तक विमर्श गरिएको छ । नेकपाका केन्द्रीय सदस्य तथा लेखक लक्ष्मण पन्तले लेखेको उक्त पुस्तक एक कार्यक्रमका बीच वीरेन्द्रनगरमा विमर्श गरिएको हो । पुस्तक विमर्श कार्यक्रममा पुस्तका बारेमा जानकारी दिँदै लेखक पन्तले किताबमा भारत र नेपालबीच चार दशकसम्म भएका विभिन्न घटनाहरु समेटिएको बताए ।
पुस्तकमा टनकपुर, नाकावन्दी, नक्सालवाद, गोर्खाल्यान्ड आन्दोलन, जनआन्दोलन, जनयुद्ध, इन्दिरा गान्धीको हत्या, भोपाल ग्यास त्रासदी, अयोध्या विवाह, मोदी लहर, राजीव गान्धीको हत्या जस्ता घटनाहरु समेटिएको बताए ।
भुटानी शरणार्थी र भारत, भारत र पाकिस्तान द्वन्द्व, काश्मीर विवाद, भारत र चीनबीच प्रतिस्पर्धा, बंगलादेश आन्दोलन जस्ता विभिन्न घटनाहरु समेटिएको बताए ।
भारतले नेपाल जस्तै दक्षिण एसियाका अन्य देशहरु पाकिस्तान, वंगलादेश, भुटानलाई आफ्नो दवावमा राख्न खोजेको कुराहरु पनि पुस्तकमा समेटिएको भन्दै उनले छिमेकीलाई बेखुसी बनाएर भारत एक्लै अघि बढ्न नसक्ने बताए । विकास निर्माणको दिशामा लम्किरहेको भारतले यसरी छिमेकी देश माथिको हस्तक्षेपले भारतलाईनै घाटा हुने उनको भनाई थियो ।
भारतको नेपाल नीतिका मुख्य उद्देश्य सुरक्षा, जलस्रोत र बजार भएको भन्दै उनले नेपाल र भारतको सम्बन्ध बुझ्न चाहनेका लागि पुस्तक अत्यन्तै लाभदायी हुने बताए । कालापानी, लिम्पियाधुरा र लिपुलेखको सीमा विवाद ६० वर्ष पहिलाको समस्या भएको भन्दै उनले इतिहास अध्ययन गरेर आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरे ।
विमर्श कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले भारतले नेपालको हित कहिल्यै नचाहेको बताए । ‘भारतले सबै सार्क राष्ट्रहरुलाई आफ्नो अधिनमा लिएर भूटानीकरण गर्न चाहान्छ ।’ उनले भने, ‘अहिले जस्तै गरेर हामी कालापानीको समस्या समाधान गर्न सक्दैनौँ । त्यस्तैले कालापानी लिपुलेख लिम्पयाधुराको सीमा विवाद अन्त्य गर्न अन्तरराष्ट्रिय अदालत जानुको विकल्प छैन ।’
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्माले राणा शासन, राजा शासन, पञ्चायत कालमा पनि विभिन्न विकास निर्माणका कामहरु भएको बताउँदै उनले वर्तमान समयमा त्यसलाई तिव्र गतिमा अघि बढाउनुपर्ने बताए । कार्यक्रममा लेखक, साहित्यककार तथा विभिन्न राजनीतिज्ञहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । चन्द्रकान्त÷विष्णुदेवी प्रकाशन कोटेश्वर काठमाडौँले प्रकाशन गरेको पुस्तकको चाँडै नै अंग्रेजी संस्करण पनि बजारमा आउने लेखक पन्तको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top