होमपेज / अर्थ
काठमाडौँ । चौधरी ग्रुपले सरकारलाई नौ अर्ब ६७ करोड राजस्व बुझाएको जनाएको छ। यो भनेको गत आर्थिक वर्षमा संकलित कुल राजस्वको १.६४ प्रतिशत रकम हो।
चौधरी ग्रुपले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा २२.७२ प्रतिशत बढी राजस्व सरकारी ढुकुटीमा दाखिला गरेको जनाएको छ। उक्त वर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजस्व सरकारलाई बुझाएको थियो। त्यस्तै आर्थिक वर्ष २०७२/०७३ को तुलनामा भने यो राजस्व ७३ प्रतिशतले बढी हो। उक्त वर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजस्वमा योगदान गरेको थियो।
सरकारी राजस्वमा उच्च योगदान पुर्याउन सकेकोमा गौरवान्वित रहेको ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले जानकारी दिए। ‘सरकारी राजश्वमा उच्च योगदान पुर्याउन सकेकोमा हामी गौरवान्वित छौँ । नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमा हाम्रो योगदान बढ्दै गएको छ’, चौधरीले भने, ‘हामी उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’
चौधरी ग्रुपले चालू आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब लगानी गर्ने पनि जानकारी दिएको छ। ग्रुपले यस आर्थिक वर्षमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सीजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायत रहेका छन् ।
सीजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् ।
चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाइफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुने बताइएको छ।
चौधरी ग्रुपमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । ग्रुपले प्रदेश नम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।
चौधरी ग्रुपले आफूलाई राष्ट्रकै अग्रणी लगानीकर्ता र करदाता रहेको दाबी गर्दै दशकौंदेखि नेपालमा लगानी विस्तार गर्दै आएको जनाएको छ । ग्रुपले भविष्यमा लगानीमा उच्च बृद्धि गर्दै देशको आर्थिक विकासमा योगदान गर्न संकल्पित रहेको बताएको छ।
विनोद चौधरी केही दिनअघि मात्रै अमेरिकी म्यागजिन फोर्ब्सले जारी गरेको डलर अर्बपतिको सूचीमा पर्ने नेपालका एक मात्र धनाढ्य हुन्। उनको सम्पत्ति बितेको एक वर्षमा करिब २२ अर्ब रुपैयाँ वृद्धि भएको फोर्ब्सले जनाएको छ। हाल उनीसँग १ बिलियन ७० मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको छ।