होमपेज / अर्थ
काठमाडौँ । एक वर्षभित्र काम सक्नुपर्ने सर्तसहित नेपाल टेलिकमले दुई चिनियाँ कम्पनीसँग फोजी सेवा विस्तारका लागि आइतबार सम्झौता गरेको छ । करिब १९ अर्ब लागतको देशभर फोजी विस्तारको परियोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै करिब १० महिना रोकेको थियो ।
टेलिकमले फोजी विस्तारका लागि गत वर्ष कात्तिकमा टेन्डर आह्वान गरेको थियो । फोजी विस्तारका लागि परेका प्रस्तावहरू गत वर्ष पुसको पहिलो साता खोलिएको थियो । टेलिकमले फोजी विस्तारका लागि परेको प्रस्तावको मूल्यांकन सुरु गर्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।
अख्तियारले गत वर्ष पुसमा फोजी विस्तारको अनुसन्धान थालेको आयोगले कात्तिक ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी फोजी विस्तार प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । अख्तियारले अनुसन्धानको नाममा १० महिना लगाएपछि टेलिकमको फोजी विस्तार परियोजना ढिलाभएको हो ।
देशैभरि फोजी विस्तारका लागि हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) र जेडटीईसँग आइतबार सम्झौता भएको हो । सीसीएसआईले रेडियो एक्सेस नेटवर्क (र्यान) र जेडटीईले कोर नेटवर्कको काम गर्ने गरी सम्झौता भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उपभोक्ताको डिभाइस टावरसँग जोड्ने काम र्यानले गर्छ । कोर नेटवर्क भने सेवा प्रदायककोआफनो नेटवर्कबीच हुने संयोजन हो । सम्झौतासँगै नेपालभर ६५ लाख क्षमताको फोजी एलटीई विस्तारका लागि कोर नेटवर्क र र्यान नेटवर्क तयारीको काम अघि बढ्ने टेलिकमले जनाएको छ । फोजी विस्तारका लागि ६ हजार ७ सय बढी टावर परिचालन हुने टेलिकमले जनाएको छ । योबाहेक सहरी क्षेत्रमा बाक्ला घरहरू भएका स्थानमा करिब छ हजार साना टावरहरू राख्ने योजना छ ।
कोर नेटवर्क विस्तारका लागि हुवावे, जेडटीई र सिंगापुरको मभिनियरले प्रस्ताव दर्ता गराएका थिए । र्यानका लागि जेडटीई र सीसीएसआईले प्रस्ताव हालेका थिए । टेलिकमले प्रस्ताव माग गर्दा सम्झौता भएको ३३ महिनामा महिनामा काम सक्नुपर्ने सर्तराखेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही साताअघि टेलिकमलाई पत्र लेख्दै १२ महिनामा काम सक्ने गरी सम्झौता गर्न निर्देशन दिएको थियो । मन्त्रालयले पुस १६ गते टेलिकमलाई पत्र लेख्दै एक वर्षभित्र फोजी विस्तारसहित चार सहरमा फाइभी सेवा परीक्षणका रूपमा उपलब्ध गराउने सर्त सम्झौतामा राख्न निर्देशन दिएको थियो ।
संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनको अधीनमा रही सम्झौता गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कोर नेटवर्क विस्तारको काम १ अर्ब ५६ करोड ७३ लाखमा सक्ने गरी जेडटीईले प्रस्ताव हालेको टेलिकमले जनाएको छ ।
र्यान नेटवर्कको विस्तारका लागि दुई चरणमा प्रस्ताव माग गरिएको थियो । र्यान १ अन्तर्गत तत्कालीन मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र छन् । त्यस्तै नेटवर्क २ अन्तर्गत सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्र राखिएका छन् ।र्यान १ का लागि ८ अर्ब ७५ करोड २६ लाख र र्यान २ का लागि ८ अर्ब ३९ करोड ३१ लाखको प्रस्ताव सीसीएसआईले राखेको टेलिकमले जनाएको छ ।
टेलिकमले टेन्डर मूल्यांकनका लागि तीन वटा समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्नेकम्पनीलाई फोजी विस्तारको जिम्मेवारी दिइएको टेलिकमले जनाएको छ । अघिल्लो साता संसद्को अर्थ समितिले टेलिकमको फोजी विस्तार परियोजना महँगो भएको भन्दै विज्ञहरूसहित छलफल गरेको थियो ।
बैठकमा अधिकांश सांसदहरूले निजी सेवा प्रदायक एनसेलले दुई दर्जन सहरमा फोजी विस्तार गर्दा थोरै लगानी गरेको भए पनि टेलिकमले बढी लगानी गरे लागत नउठ्ने आशंकाव्यक्त गरे । बैठकमा निम्त्याइएका टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वप्रमुखहरूले टेलिकम र एनसेलको फोजी विस्तारको प्रविधि फरक भएको भन्दै दुईबीच तुलना गर्न नहुने धारणा राखेका थिए ।
अघिल्लो महिना संसद्को विकास तथा प्रविधि समितिले पनि टेलिकमसँग फोजी विस्तारसम्बन्धी विवरण माग गरेको थियो ।टेलिकमले नेपालमा पहिलो पटक फोजी प्रविधि भित्र्याए पनि अहिलेसम्म कम्पनीको फोजी सेवा काठमाडौं उपत्यका र पोखराबाहिर विस्तार हुन सकेको छैन । टेलिकमले २०७३ पुस १७ देखि उपत्यका र पोखरामा फोजी सुरु गरेको थियो । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिकमका फोजी ग्राहक करिब सात लाख छन् । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको फोजी ग्राहक १४ लाख छन् ।
लेखा समितिले माग्यो विवरण
टेलिकमको देशैभर फोजी विस्तारको परियोजनाबारे संसद्को सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ । समितिले शुक्रबार टेलिकमलाई पत्र लेख्दै फोजी विस्तारको बोलपत्रसम्बन्धी विवरण माग गरेको सचिव रोजनाथ पाण्डेले जानकारी दिए । समितिमा फोजी विस्तारको बोलपत्रसम्बन्धी विवरण उपलब्ध भएपछि अध्ययन गरी छलफल गरिने उनले बताए ।
यसअघि संसद्को विकास तथा प्रविधि र अर्थ समितिले पनि टेलिकमले देशैभर फोजी विस्तारका लागि गरेको बोलपत्र आहवान सम्बन्धमा चासो राखेका थिए । दुवै समितिले टेलिकमका पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए ।
फोजी विस्तार : कहिले के ?
२०७४ कात्तिक १७ गते कोर नेटवर्कको बोलपत्र आह्वान
२०७४ कात्तिक २२ गते र्यानका लागि बोलपत्र आह्वान
२०७४ पुस ११ मा अख्तियारमा फोजी विस्तार प्रक्रियाविरुद्ध उजुरी
२०७४ पुस २३ मा बोलपत्रविरुद्ध पाटन उच्च अदालतमा रिट
२०७४ फागुन ९ मा पाटन अदालतद्वारा रिट खारेज
२०७५ कात्तिक ७ गते अख्तियारद्वारा फोजी विस्तार अघि बढाउन सञ्चार मन्त्रालयलाई पत्र
२०७५ पुस १६ गते मन्त्रालयद्वारा १ वर्षभित्र फोजी विस्तार सकाउन टेलिकमलाई निर्देशन
२०७५ माघ १५ गते संसद्को अर्थ समितिद्वारा कम लागत र बढी लाभ हुने गरी फोजी विस्तार गर्न निर्देशन
२०७५ माघ २० गते फोजी विस्तारका लागि जेडटीई र सीसीएसआईसँग सम्झौता
लागत
कोर नेटवर्क :
१ अर्ब ५६ करोड ७३ लाख
र्यान १ : ८ अर्ब ७५ करोड २६ लाख ४९ हजार
र्यान २ : ८ अर्ब ३९ करोड ३१ लाख ४६ हजार
कुल लागत : १८ अर्ब ७१ करोड