ट्रेण्डिङ

होमपेज / पर्यटन

स्व. क्याप्टेन दीनेश न्यौपानेको सम्झनामा डोल्पामा प्रवेशद्वार

नेपालगाथा डेस्क २०७८ भाद्र १० गते बिहीबार १९:३७:११ मा प्रकाशित

दुनैबजार डोल्पा । ‘आफू मरेर भए पनि अरुलाई बचाउन सफल’ साहसिक विमान चालक स्व. क्याप्टेन दीनेश न्यौपानेको सम्झनामा डोल्पा जिल्लाको दुनै बजारमा पक्की प्रवेशद्वार निर्माण भएको छ । क्याप्टेन दीनेश प्रतिष्ठानको समन्वय र आयोजनामा बनेको प्रवेशद्वार करिब ६० लाख रुपैयाँमा बनेको प्रवेशद्वार निर्माण समितिका अध्यक्ष तथा स्व. क्याप्टेन दीनेश न्यौपानेका बुवा मानदत्त न्यौपानेले नेपालगाथालाई बताउनुभयो । 


कर्णाली प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री नन्दबहादुर सिंहले बिहीबार एक समारोहका बीच रिबन काटेर प्रवेशद्वारको उद्घटन गर्नुभएको हो । प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री सिंहले स्व. क्याप्टेन दीनेश न्यौपाने एउटा साहसिक, निडर र आफू मरेर भएन पनि अरुलाई बचाउने अमर व्यक्ति भएको बताउनुभयो । सोही अवसरमा मन्त्री सिंहले स्व. क्याप्टेन दीनेश न्यौपाने उहाँका आमा र बुवाको मात्र छोरा नभएर डोल्पा जिल्लाका साथै समग्र नेपाल देशकै एक असल र अमर छोरा भएको चर्चा समेत गर्नुभयो । प्रवेशद्वार उद्घाटन समारोहमा डोल्पास्थित सरकारी तथा गैरसरकारी कार्यालयक प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


स्व. क्याप्टेन दीनेश न्यौपानेको सम्झनामा उक्त प्रवेशद्वार बनाउन कर्णाली प्रदेश सरकार उद्योग, वन, वातावरण तथा पर्यटन  मन्त्रालयबाट ५० लाख तथा क्याप्टेन दीनेश प्रतिष्ठानबाट १० लाख रुपैयाँ प्राप्त भएको थियो । अब डोल्पाको दुनैबजार जाने जो कोही पनि स्व. क्याप्टेन दीनेश न्यौपानेको सम्झनामा बनेको प्रवेशद्वार भएर दुनैबजार प्रवेश गर्नेछन् । 
प्रवेशद्वार उद्घाटन भएसँगै स्व. क्याप्टेन दीनेश न्यौपानेको नाममा दुनैबजारमा प्रतिक्षालय बन्ने क्रम पनि जारी रहेको बुवा मानदत्त न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार अब छिट्टै नै प्रतिक्षालयको निर्माण कार्य सकेर उद्घाटन गरिनेछ । 


२०७२ फागुन १४ गते नेपालगंजबाट जुम्लाका लागि उडेको जहाजको आकाशमा नै पंखा बन्द भएपछि जहाजमा रहेका यात्रुलाई ‘तपाईहरु नडराउनुहोस्, हामी मरेर भए पनि तपाईहरुलाई बचाउँछौं’ भन्दै स्व. क्याप्टेन दीनेश न्यौपाने र सहचालक सन्तोष लामाले कालिकोटको चिलखायाँमा जहाजलाई आकस्मिक अवतरण गराउन खोज्दा जहाज दुर्घटना परी देहवसान हुनु भएको थियाे । उक्त जहाजमा रहेका सबै यात्रु सकुशल जिवित रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top