होमपेज / समाज
सुर्खेत । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको आर्थिक सहयोग, साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेशको समन्वयमा वीरेन्द्रनगरमा अपाङ्गता अभिमुखीकरण कार्यक्रम तथा शारीरिक अपाङ्गता पहिचान एवं परीक्षण शिविर सम्पन्न भएको छ।
कार्यक्रम साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललित बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय दुर्गबहादुर रावत प्रमुख अतिथि रहनुभएको थियो भने सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाही विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेशका व्यवस्थापक आनन्द बिष्ट, वित्त अधिकृत नारायणबहादुर खड्का, परियोजना अधिकृत मिना महत्तो, साझेदारी अधिकृत सुनिता भण्डारी, कुष्ठरोग विज्ञ उदयनाथ योगी, नगरस्तरीय समावेशी सञ्जालका अध्यक्ष प्रेमबहादुर नेपाली, सदस्य आशा घर्ती, साईनिङ अस्पताल आई एन एफ नेपालका स्वास्थ्यकर्मी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतका HEAL परियोजनाका अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय दुर्गबहादुर रावतले आफ्नो संघर्षपूर्ण जीवनयात्रा स्मरण गर्नुभयो।उहाँले कक्षा १० सम्म अध्ययन गर्दा दुई घण्टाको दुर्गम बाटो काठको लठ्ठीको सहारामा खालीखुट्टा हिँड्नुपरेको, हातखुट्टाबाट रगत बग्दासमेत पढाइ नछोडेको अनुभव सुनाउँदै पारिवारिक साथ, दृढ इच्छाशक्ति र आत्मविश्वासकै कारण उच्च शिक्षा हासिल गर्न सफल भएको बताउनुभयो।
उहाँले समाजमा अपाङ्गता भएका व्यक्तिप्रति नकारात्मक धारणा रहे पनि कहिल्यै हिम्मत नहार्न आग्रह गर्दै भन्नुभयो, “हाम्रा केही अंग कमजोर भए पनि बाँकी अंग सक्षम छन्। आत्मविश्वास, मेहनत र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिन सक्छन्।”
उहाँले आफू शिक्षक, संघीय सांसद हुँदै हाल कर्णाली प्रदेश सभामा पुगेर अपाङ्गता भएका व्यक्तिहरू, लैङ्गिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी नीति, ऐन तथा कानुन निर्माणमा निरन्तर आवाज उठाइरहेको उल्लेख गर्नुभयो। साथै अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउँदै राज्य नपुगेका क्षेत्रमा विकास साझेदार तथा सामाजिक संस्थाले पुर्याइरहेको योगदानको उच्च प्रशंसा गर्नुभयो। विशेषगरी कुष्ठरोग तथा अपाङ्गताको क्षेत्रमा आई एन एफ नेपालले विगतदेखि पुर्याउँदै आएको सेवाप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले मन्त्रालयको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमले छोटो समयमै प्रभावकारी सेवा प्रवाह गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले कृत्रिम अंग निर्माण, अपाङ्गता पहिचान तथा पुनर्स्थापना सेवामार्फत दुर्गम क्षेत्रका नागरिकसम्म गुणस्तरीय सेवा विस्तार गर्न आगामी दिनमा पनि मन्त्रालयले सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललितबहादुर सारुले आई एन एफ नेपालले प्रेम, सेवा, उत्कृष्टता र इमानदारितालाई आफ्नो मूल्यमान्यता मानेर निस्वार्थ रूपमा समुदायको सेवामा समर्पित रहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, विकास साझेदार, नागरिक समाज र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उहाँले कार्यक्रम सफल बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सुर्खेत जिल्लाका नौवटै स्थानीय तह, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र साझेदारी निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमसँगै सञ्चालन गरिएको शारीरिक अपाङ्गता पहिचान तथा परीक्षण शिविरमार्फत सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान, आवश्यक परामर्श तथा पुनःस्थापना सेवाका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ। यस्तो प्रकारको शिविरले अपाङ्गता भएका व्यक्तिहरूलाई समयमै आवश्यक स्वास्थ्य सेवा, सहायक सामग्री तथा पुनर्स्थापना सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।