होमपेज / समाज
गोविन्द रावत, सुर्खेत। कर्णाली प्रदेशमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको विकासलाई संस्थागत गर्ने उद्देश्यले आयोजित ‘कर्णाली प्रदेश युवा वैज्ञानिक सम्मेलन–२०८३’ शनिबार वीरेन्द्रनगरस्थित शुभ होटलमा भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको आयोजनामा तथा ग्लोबल सस्टेनेबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर बुटवलको प्राविधिक सहकार्यमा सम्पन्न सम्मेलनमा प्रदेशभरका वैज्ञानिक, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक, विज्ञान शिक्षक, सरकारी निकायका प्रतिनिधि, विद्यार्थी, युवा अनुसन्धानकर्ता तथा विज्ञानप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले डिजिटल प्रविधिमार्फत पानसमा बत्ती बालेर गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख वक्ताकाे रुपमा सम्बोधन गर्दै मन्त्री घनश्याम भण्डारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई कर्णाली प्रदेशको समृद्धिको मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अनुसन्धानमा आधारित नीति निर्माण, युवा वैज्ञानिकहरूको प्रोत्साहन तथा स्थानीय समस्याको वैज्ञानिक समाधान खोज्ने दिशामा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो।

त्यसैगरी अर्का प्रमुख वक्ता प्रा. डा. दिनेशराज भुजुले “समृद्ध कर्णालीको आधार : विज्ञान, प्रविधि तथा नवप्रवर्तन” विषयमा आफ्नो मन्तव्य राख्दै कर्णालीको विकासका लागि अनुसन्धान, नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्र निर्माण अपरिहार्य रहेको बताउनुभयो। विज्ञानलाई प्रयोगशाला वा विश्वविद्यालयमा सीमित नराखी समुदायसँग जोड्नुपर्ने उहाँको जोड थियो।
कार्यक्रम संयोजक तथा ग्लोबल रिसर्चका कार्यकारी निर्देशक माधव काफ्लेले कार्यक्रम माथि प्रकाश पार्दै कर्णालीमा विज्ञान तथा प्रविधिका बारेमा अपार सम्भावना रहेकाे धारणा व्यक्त गर्नुभयाे । सम्मेलन अन्तर्गत आयोजित प्राविधिक सत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी नीति, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता तथा STEAM शिक्षाका विविध पक्षमा गहन छलफल भएको थियो। पहिलो प्यानल छलफलमा ‘Research, Innovation and Development Policy and Practices of Karnali Province in Science and Technology’ विषयमा प्रदेश योजना आयोग, जल तथा मौसम विज्ञान विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मध्यपश्चिम विश्वविद्यालय, युवा वैज्ञानिक तथा सम्बन्धित निकायका विज्ञहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमकाे सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डाक्टर पुष्पराज आचार्यले गर्नुभएकाे थियाे ।

त्यसैगरी दोस्रो प्यानल छलफलमा ‘STEAM Education: Practice and Opportunities for the Development of Karnali Province’ विषयमा विज्ञान शिक्षक, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा शिक्षा विज्ञहरूले विद्यालय तहदेखि अनुसन्धानमुखी शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उक्त कार्यक्रमकाे सहजीकरण कार्यक्रम संयोजक तथा ग्लोबल रिसर्चका कार्यकारी निर्देशक माधव काफ्लेले गर्नुभएकाे थियाे ।

कार्यक्रममा शैक्षिक नेतृत्वकर्ता विष्णुप्रसाद ढकालले “What Makes School Truly School (How a Classroom Can Germinate Research and Innovation” विषयमा प्रेरणादायी प्रस्तुति दिँदै विद्यालयलाई अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
सम्मेलनको विशेष आकर्षणका रूपमा विज्ञान, अनुसन्धान तथा शिक्षामा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मान छनोट समितिको सिफारिसका आधारमा डा. निरज के.सी. लाई ‘कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार प्रदान गरिएको थियो। उहाँले सार्वजनिक स्वास्थ्य, पोषण, जलवायु परिवर्तन तथा अनुसन्धानका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

यसैगरी दीर्घकालीन रूपमा विज्ञान शिक्षामा योगदान पुर्याएका शिवशंकर सिंह, चुडामणि के.सी., भोजराज ढकाल, उपेन्द्र शाह, रामविलास यादव, प्रा. डा. केशर सिंह राना तथा उपप्राध्यापक डा. तारणी प्रसाद यादवलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो र कर्णाली प्रदेश विज्ञान शिक्षक समाज सुर्खेतका अध्यक्ष लोकेन्द्रबहादुर चन्द समेत पुरस्कृत हुनुभएको छ। त्यस्तै डा. अनुप बस्नेत, डा. पुष्पराज आचार्य, डा. ज्ञानप्रसाद पौडेल, डा. रामसुरेश यादव, डा. दिक्पाल कुमार शाही तथा डा. विजय पण्डितलाई विज्ञान, अनुसन्धान तथा उच्च शिक्षामा पुर्याएको योगदानको कदर गर्दै ‘विज्ञान तथा प्रविधि योगदान सम्मान प्रदान गरिएको थियो।
सम्मेलनमा विभिन्न सरकारी कार्यालय, अनुसन्धान संस्था, विश्वविद्यालय, विज्ञान शिक्षक समाज, व्यावसायिक सङ्घसंस्था तथा विज्ञानसँग सम्बन्धित निकायहरूको सहभागिताले विज्ञान र अनुसन्धानलाई प्रदेश विकाससँग जोड्ने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमको समापन गर्दै सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख देवीप्रसाद पौडेलले सम्मेलनबाट प्राप्त सुझावलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी नीति निर्माण, अनुसन्धान प्रवर्द्धन तथा युवा वैज्ञानिकहरूको क्षमता विकासमा उपयोग गरिने बताउनुभयो। उहाँले कर्णालीलाई अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको केन्द्रका रूपमा विकास गर्न यस्ता सम्मेलनलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

आयोजकका अनुसार, सम्मेलनले कर्णाली प्रदेशमा विज्ञान, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्दै सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ।
सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठकाे सभाध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा प्रदेश योजना आयोग सदस्य अशोकनाथ योगी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) का प्राज्ञ तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका कार्यवाहक अध्यक्ष प्रा. डा. दिनेशराज भुजु , सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख देवीप्रसाद पौडेल, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख सह–प्राध्यापक माधव प्रसाद खनाल तथा शैक्षिक नेतृत्वकर्ता विष्णुप्रसाद ढकाल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।