होमपेज / समाज
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट हिजो नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको खोजीकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक परे हेलिकप्टर समेत परिचालन गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री कडेलले शुक्रबार कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग दुर्घटनापछि भइरहेको खोजी तथा उद्धार कार्यबारे जानकारी लिँदै उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गरेका हुन्। छलफलमा मुख्यमन्त्री कडेलले अहिलेसम्म सुरक्षा निकायहरूबाट खोजी तथा उद्वार कार्यमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकता परे हेलिकप्टरबाट समेतखोजी गर्नु पर्नेमा जोड दिए। उनले दैलेखदेखि भारतको सीमासम्म खोजी दायरा विस्तार गर्न समेत निर्देशन दिएका छन्।
छलफल कार्यक्रममा सशस्त्र प्रहरीका डिआइजी कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिडिसकेको जानकारी गराएका थिए। नेपाल प्रहरीका डिआइजी जयराज सापकोटाले नदीको पानी धमिलो भएको, नदीको गहिराइ बढी हुनु तथा भौगोलिक कठिनाइका कारण खोजीकार्यमा चुनौती थपिएको बताए। उनले सबै सुरक्षा निकायको सामुहिक प्रयासबाट उपलब्ध सम्पूर्ण जनशक्ति र स्रोत–साधन परिचालन गरी खोजी जारी राखिएको जानकारी दिए। खोजीकार्यमा नेपाली सेनासमेत परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानहरूमा खोजी शुरू भएको सो अवसरमा जानकारी दिइएको थियो।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि एकजनाको शव फेला परेको छ भने गाडी र त्यसमा सवार अन्य यात्रुहरूकाे अवस्था अज्ञात छ।