ट्रेण्डिङ

होमपेज / समाज

गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृतिदिवस मनाइँदै

नेपालगाथा २०८२ चैत्र ७ गते शनिबार १०:०५:२६ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृतिदिवस आज(शनिबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफूअनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभंग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैं मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।कोइरालाकै नेतृत्वमा ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए, जसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६औँ स्मृति दिवस मनाउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top