होमपेज / समाज
डडेल्धुरा । डडेल्धुराका स्थानीय बासिन्दाले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ६ का बासिन्दाले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् ।
अमरगढी नगरपालिकाले फोहोरमैला व्यवस्थापनको नाममा आफूहरूलाई झुक्याएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । फोहोरविरुद्ध संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा अमरगढी– ५ भजनपुरनजिक गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । तर, अहिले आएर सोही क्षेत्रलाई फोहोर फाल्न थालिएको संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले जानकारी दिए ।
‘नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको छ,’ ताम्राकारले भने, ‘यो क्षेत्र फोहोर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्दै हामीले बारम्बार विरोध र आवाज उठाएका थियौँ । तर, हाम्रो मागलाई बेवास्ता गरिएपछि चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेका हौँ ।’
भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र बस्ती नजिकै रहेको तथा त्यहाँ खानेपानीका मुहान, सिँचाइको स्रोत र विद्यालय जाने बाटो रहेका कारण फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको स्थानीयको भनाइ छ । स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलन चर्काउने बताएका छन् ।