होमपेज / समाज
काठमाडौं । अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद् (ICOM) को नेपालको राष्ट्रिय समिति आइकम नेपालको नवौं वार्षिक साधारण सभाबाट रमेश प्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको छ। सभाबाट निर्वाचित नौ सदस्यीय कार्यसमितिमा सचिवमा ओम प्रकाश घिमिरे र कोषाध्यक्षमा सन्तबहादुर गुरुङ चयन हुनुभएको छ ।
समितिका अन्य सदस्यहरूमा डा. पशुपति न्यौपाने, रोशन मिश्र, शान्ता चौधरी, पवित्रा थपलिया, सन्तोष कुमार सुवेदी र ख्याम प्रसाद शिवाकोटी चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिले आगामी दिनमा नेपालको सङ्ग्रहालय क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, विशेषगरी स्थानीय तहमा स्थापित सङ्ग्रहालयहरूलाई मापदण्ड र मानकका आधारमा सक्षम तथा स्तरयुक्त बनाउने दिशामा विशेष पहल गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आइकम नेपालले नेपालमा सङ्ग्रहालय क्षेत्रको विकास, ज्ञान निर्माण, पैरवी तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइकमका विश्वभर १२० भन्दा बढी देशमा राष्ट्रिय समितिहरू सक्रिय छन्न् । त्यसमध्ये नेपालको राष्ट्रिय समितिले पनि पछिल्लो समयमा सक्रियता बढाएको छ ।
नवनिर्वाचित समितिले आगामी तीन वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ । हाल आइकम नेपालमा १९ वटा सङ्ग्रहालय संस्थागत सदस्य तथा ५१ जना व्यक्तिगत सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।