ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंको न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल घट्यो

नेपालगाथा २०८२ कार्तिक २५ गते मंगलबार १०:४०:३० मा प्रकाशित

काठमाडौं । पछिल्ला दिन देशभरको तापक्रम क्रमशः घट्दो क्रममा रहेकाे छ । काठमाडौं उपत्यकासहित देशैभरको तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज(मंगलबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको छ । यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल झरेको यो पहिलोपल्ट हो । महाशाखाका अनुसार, काठमाडौंको न्यूनतम तापक्रम हिजो १०.६, आइतबार (कात्तिक २३) ११.४ डिग्री थियो ।

आज बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –२.६ डिग्री छ । सोमबार र आइतबार जुम्लाको न्यूनतम तापक्रम समान –२.४ डिग्री मापन गरिएको थियो । यस दिन डडेलधुराको न्यूनतम तापक्रम ५.९, दिपायलको ८.६, ताप्लेजुङको ८.८, वीरेन्द्रनगरको १०.२, धनकुटाको १०.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । 

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन । यहाँ कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top