ट्रेण्डिङ

होमपेज / समाज

पश्चिमी वायुको प्रभाव - अब दुई दिन वर्षा र हिमपातकाे सम्भावना

नेपालगाथा २०८२ कार्तिक १७ गते सोमबार १८:५६:४९ मा प्रकाशित

काठमाडौं । देशको पश्चिमी भूभागमा अबका दुई दिन वर्षा र हिमपातको पूर्वानुमान रहेकाे छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार र बुधबार (कात्तिक १८ र १९) देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने पूर्वानुमान छ । त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ । विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । यी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि मंगलबारदेखि पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना औँल्याएका छन् । यो अवधिमा काठमाडौंमा वर्षाको सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् । “कमजोर पश्चिमी वायुले भोलि (मंगलबार) अपराह्नदेखि पश्चिम नेपालमा हल्का वर्षा गराउने र पर्सि काठमाडौंसम्म पानी नआए पनि बादलचाहिँ ल्याउने सम्भावना देखिन्छ,” उनले आज सामाजिक सञ्जालमा लेखेका छन् ।

उक्त प्रभाव सकिएपछि घमाइलो मौसम सुरु हुने उनले बताएका छन् । त्यसपछि वायु प्रदूषण पनि बढ्ने सम्भावना रहेकाे छ भनि उनले उल्लेख गरेका छन् । ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top