होमपेज / समाज
काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहनेछ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुनेबताएको छ ।
तिहारको समयमा पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना भने रहेको छ ।
यस्तै, कात्तिक ४ गते देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कात्तिक ५ गते देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।