होमपेज / समाज
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति व्यहोरेको चौधरी समूह (सीजी) ले आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
सीजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शहीद परिवारको एकजनालाई रोजगारी दिने घोषणा गरेका हुन् । ‘यो केवल हाम्रो बाचा होइन, हाम्रो कर्तव्य र श्रद्धा हो,’ उनले भने।
चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र उद्योगहरूमा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति पुगेको उल्लेख गर्दै पनि समूह पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढेको बताएका छन्।
उनले भने, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, र आशा, सहानुभूति र सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।’
सीजी समूहले शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याल (९८५१२२४०००) लाई सम्पर्क गर्न अनुरोध गरेको छ।
सीजी समूहले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ। ‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।
क्षतिग्रस्त अवस्थाका बाबजुद हामी पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढिरहेका छौं,’ समूहले भनेको छ ।”