ट्रेण्डिङ

होमपेज / समाज

नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनकाे आग्रह

नेपालगाथा २०८२ आश्विन ७ गते मंगलबार २२:३४:४२ मा प्रकाशित

नारायणगढ । नारायणगढ–मुग्लिङ सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै चितवन प्रशासनले ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रूपमा बन्द भएकोले वैकल्पिक सडक प्रयोग गर्न सूचित गरेको हो । सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेको प्रशासनले जनाएको छ । 

महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौंडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङ जिल्लाको नौविसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न  चितवन प्रशासनले अनुरोध गरेको छ । 

यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्न भनिएको छ । यात्रुहरूलाई कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीसँग सूचना एवं सहयोग लिन आग्रह गरिएको छ ।

जोखिम मोलेर यात्रा नगर्न भन्दै प्रशासनले सडक खुलाउन हरदम प्रयत्न गरिरहेको जनाइएको छ । आवश्यक जानकारी एवं सूचनाका लागि जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी, मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी, कृष्ण प्रसाद आचार्य (९८५५०९२२१८) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top