होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेन्जी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन। आन्दोलनमा नगरपालिकाका १देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिईरहेका छन।
मुख्यमन्त्री कडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही सहित वडा अध्यक्षसंग छलफल गरेका थिए। वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन जी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो।

आज स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री कडेलले वडा कार्यालयका संरचना आगजनी र तोडफोडपछि सेवा प्रवाहबारे भइरहेको असुविधाबारे वडा अध्यक्षहरूसंग छलफल गरेका थिए। मुख्यमन्त्री कडेलले अव अवस्था सामान्कृत हुदै गएकोले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भएपनि सेवा प्रवाह गर्नु गर्न सुझाव दिएका थिए।
मुख्यमन्त्री कडेलले छलफल क्रममा भने, भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ,सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई , सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ ,जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस । '
गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो ।
आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । सात वटा वडा कार्यालय पूर्ण रूपमा जलेर खरानी भएका छन् । वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ ।
यस घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठूलो धक्का पुर्याएको भएपनि मुख्यमन्त्री कडेलले कठिन समयमा पनि जनताले पाउने सेवा–सुविधा जनताकै घरआँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु पर्ने बताए।