ट्रेण्डिङ

होमपेज / समाज

दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा अक्षयकोष दाता सम्मान, फेरि भेटौला र शुभकामान आदानप्रदान कार्यक्रम 

अक्षयकोष दाताहरूबाट विभिन्न ६ वटा अक्षयकोष स्थापना घोषणा

नेपालगाथा २०८२ आश्विन ६ गते सोमबार ०७:३४:१६ मा प्रकाशित

सुर्खेत । श्री सरस्वती प्राथमिक विद्यालय चनौटे सुर्खेतले दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा अक्षयकोष दाता सम्मान, फेरि भेटौला र शुभकामान आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । 

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समितिका संयोजक लोकप्रसाद गौतमले २०४६ सालको बदलिँदो राजनीतिक परिवेशको सेरोफेरोमा  विसं‍ २०४८ सालमा लिलाराम काफ्ले, भवानी प्रसाद गौतम लगायतका समाजसेवीले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले यस विद्यालयको स्थापना गरेको स्मरण गर्नुभयाे । विद्यालय स्थापना कालमा खरको छानाबाट पठनपाठनलाई सुरुवात गरेको विद्यालय यहाँसम्म आइपुग्दा  विभिन्न आरोह र अवरोधहरू पार गर्दै, सहयोग र सहभागिताहरू जुटाउँदा अप्ठ्यारा र चुनौतीहरुलाई  पन्छाउँदै, विरोध र बहकापहरुलाई चिर्दै केही भौतिक व्यवस्थापन, केही शैक्षिक व्यवस्थापन गर्न सकेको कुरा बताउनुभयाे ।

समाज र बस्तीको बीचमा रहेकाे विद्यालय सुन्दर गहनाको रुपमा अवस्थित भएको र समुदायको साथ र सहयोगले यहाँसम्म आइपुगेको प्रमुख अतिथि गाैतमले बताउनुभयाे । विद्यालयलाई यहाँसम्म ल्याइ पुर्याउनलाई योगदान गर्नुहुने संस्थापकहरू, विद्यालय व्यवस्थापन समितिहरु, शिक्षक, कर्मचारी, प्रशासकहरुलाई बिशेष आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग, सहकार्यको लागि प्रमुख अतिथि गाैतमले आग्रह समेत गर्नुभयो।

यसैगरी विद्यालय निर्माणका क्रममा सहयोग र साथ दिने नगर शिक्षा, जिल्ला शिक्षा कार्यालय तथा वडा कार्यालय प्रति कृतज्ञता व्यक्त गर्दै गाैतमले विद्यालयप्रति कहिँ कतै, कसैले कुदृष्टि लगाएमा विद्यालय र समुदाय एकताबद्ध हुँदै विद्यालयका हितका लागि सतिसाल भएर उभिन समेत आग्रह गर्नुभयो।

विस‌ं २०६१ सालदेखि यस विद्यालय सेवारत रमा केसी (ढकाल) को सेवा अवधि समाप्त भएको हुँदा उहाँका लागि फेरि भेटौला कार्यक्रमको आयोजना गरिएको थियो। विद्यालयका अभिभावक, शिक्षक, व्यवस्थापन समिति लगायतका उपस्थित सम्पुर्णले उहाँले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदान, उहाँको पेशागत निष्ठा, सहज सरल बानी- व्यवहार, शिक्षण पेशालाई आफ्नो कर्म ठानी बाल केन्द्रित शिक्षण सिकाइमा पुर्याउनुभएको योगदान, विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा उहाँ लगायत उहाँको परिवारले  पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।

विद्यालयका तर्फबाट उहाँलाई टीका, माला, खादा, अविर, दोसल्ला सहित सम्मान पत्र, मायाको चिनो र प्रशंसापत्र प्रदान गर्दै उहाँको सेवा निवृत्त जीवन सुरु भएता पनि यही समाज, टोल र बस्तीको सदस्य भएको हुँदा विद्यालयमा बेलाबखत सामाजिक, शैक्षिक कार्यमा सहभागिताको निम्ता गर्दै उहाँको पेशागत निवृत्त जीवन सुखमय रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक क्षेत्रमा विकास र विस्तार, उन्नति र प्रगतिका लागि विभिन्न कालखण्डमा विद्यालयका संस्थापकहरू, विद्यालय व्यवस्थापन समितिहरु, अभिभावकहरु, शिक्षकहरु, बालबालिका र अन्य सामाजिका  सहयोगी निकायहरुले गर्नुभएको सहयोगप्रति आभार व्यक्त गर्दै यही भाद्र २९ गते एसओंएस बालग्राम सुर्खेतको सहयोग समेतमा सम्पन्न भएका विभिन्न खेलहरू, प्रतियोगिताहरूका सहभागी - प्रथम ,द्वितीय र तृतीय विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालयकाे शैक्षिक र भाैतिक विकासका लागि यसै वर्षदेखि विद्यालयले अक्षय कोष निर्माण गर्ने भएकाे छ ।  विद्यालय व्यवस्थापन समितिको निर्णय र अक्षयकोष व्यवस्थापन समितिको पहलका आधारमा विभिन्न अक्षकोषको घोषणा गरिनुका साथै अक्षयका दाताहरुलाई सम्मान समेत गरिएको थियो।

उक्त अवसरमा अक्षयकोष दाताहरूबाट विभिन्न ६ वटा  नाममा अक्षयकोष स्थापना भएकाे घोषणा गरिएकाे छ ।  जसमा  ५१ हजार १०५ रुपैयाँ बराबरकाे  "पूर्ण -लिलाराम- प्रवीण अक्षय कोष"  काे घाेषणा गरिएकाे छ । आफ्ना आमाबुबा र स्वर्गीय छोराका नाममा झंकराज काफ्लेले उक्त अक्षयकाेषकाे स्थापना गर्नुभएको हाे ।

त्यसैगरी समाजसेवी लोकप्रसाद गौतमले आफ्ना स्वर्गीय बुवा भवानी प्रसाद गौतम र आमा कलावती गौतमको नाममा "भवानी - कलावती अक्षयकोष" घाेषणा गर्नुभएको छ। यसै विद्यालयकी शिक्षिका सुशीला शर्मा (गौतम) ले आफ्ना स्वर्गीय बुवा दण्डप्रसाद शर्मा र आमा कौशिला शर्माकाे नाममा "दण्ड - कौशिला अक्षय कोष" घाेषणा गर्नुभएकाे छ। यशोदा पौडेल (खनाल)ले आफ्ना स्वर्गीय बुवा र आमाका नाममा "लिलाधर - खगिसारा  अक्षय" काे घाेषणा गर्नुभएकाे छ। यसैगरी स्वर्गीय ऋषि गौतम र शान्ता गौतमका नाममा उहाँको छोरी ज्योति गौतमले "ऋषि - शान्ता अक्षय कोष" स्थापना गर्नुभएको छ। उक्त अवसरमा सेवा निवृत्त शिक्षक रमा केसी (ढकाल)ले आफू र आफ्ना श्रीमानका नाममा "भक्त - रमा अक्षय कोष" स्थापना गर्नुभएको छ।

यसरी विभिन्न ६ वटा अक्षय कोषबाट ३ लाख १० हजार ८० रुपैयाँ विद्यालयका लागि प्राप्त भएकाे छ । यस अक्षय कोष रकमलाई विद्यालयले निर्मित विनियमका आधारमा रही नेपाल बैंक लिमिटेडमा खाता खोली सो रकमबाट प्राप्त ब्याजबाट विद्यालयमा अध्ययनरत  गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति दिने व्यवस्था गरेको  विद्यालयका प्रअ गंगाराम जि सीले जानकारी दिनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अइमाने कामीको अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रमकाे सञ्चालन विद्यालयका प्रध्यानाध्यापक गंगाराम  जिसीले गर्नुभएकाे थियाे । कार्यक्रममा विद्यालय अक्षयकोष व्यवस्थापन समिति संयोजक राज काफ्ले, छायाँनाथ गाउँपालिकाका शिक्षा शाखा अधिकृत  विकेन्द्र बिक, श्री चन्द्रगङ्गा मावि गाग्रेतालका शिक्षक तथा अक्षयकोष व्यवस्थापन समिति अमर ज्योतिका संयोजक नवराज खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु,  विद्यालयका बालबालिका र अभिभावकको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top