ट्रेण्डिङ

होमपेज / समाज

निजामती सेवा दिवस मनाउँदै

नेपालगाथा २०८२ भाद्र २२ गते आइतबार १०:५९:१९ मा प्रकाशित

काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने चलन रहेकाे छ ।

दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ । बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने छ ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अघिल्लो वर्ष घोषणा गरिएको उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकाे छ । गत वर्ष घोषणा गरिएका उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई आज सम्मान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १ लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि छनोट भएका कर्मचारीहरुले आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा पुरस्कार तथा सम्मान पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top