होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री कृष्ण जिसीले सुन्दर नेपाल संस्थाले समाजमा सुन्दर काम गरेको बताउनुभएको छ । सुन्दर नेपाल संस्थाको २९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिसीले समाजका हरेर व्यक्तिको सामाजिक, आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै उनीहरुको जीवनस्तर सुधार गर्नका लागि सुन्दर नेपाल संस्थाले साच्चै नै प्रभावकारी काम गरेको धारणा राख्नुभयो ।

कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले संस्था स्थापनाको समयमा आफू पनि जोडिएर विभिन्न कार्यक्रमहरु गरेको स्मरण गर्दै समाज परिवर्तनका लागि सरकार एक्लैले सम्भव नभएकाले यसमा गैरसरकारी संस्थाको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले सकारात्मक सोचबाट मात्र समाज विकास सम्भव भएकाले सबैले सकारात्मक तरिकाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रमका अतिथि एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले सुन्दर नेपाल संस्थाले समाजका धेरै व्यक्तिको मुहारमा सकारात्मक परिवर्तन ल्याउन सफल भूमिका खेलेको आफूले महशुस गरेको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नंं. ८ का वडा अध्यक्ष टीकाराम शर्माले सुन्दर नेपालको उच्च प्रशंसा गर्दै वडा नं. ८ लाई बालमैत्री र वातावरणमैत्री घोषणा गर्नमा सुन्दर नेपाल संस्थाको अतुलनीय योगदान रहेको बताउनुभयो । साथै उहाँले सुन्दर नेपालका सबै कार्यक्रमहरुलाई दिगो व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि बताउनुभयो ।
दातृ निकायको नजरमा उत्कृष्ट संस्था
सोही अवसरमा दातृ निकायका प्रतिनिधि केयर नेपालका बिना पन्तले सुन्दर नेपालले वित्तिय सुशासन र कार्यक्रमको पारदर्शीतामा उदाहरणीय कार्य गरिरहेकोमा उच्च प्रशंसा गर्नुभयो । यसैगरी सेभ द चिल्ड्रेनका कान्ति खड्काले संस्थाले विशेषगरी महिला र बालबालिकाको पक्षमा उल्लेखनीय कार्य गरेर आफूलाई अग्रणी संस्थाको रुपमा परिचित गराउन सफल भएकोमा आफूलाई गर्व लागेको बताउनुभयो ।

२९ वर्षमा देशका २८ जिल्लामा कार्यक्रम विस्तार
संस्थाका सचिव उमाकुमारी भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०८१/२०८२ मा विभिन्न ७ वटा परियोजना सञ्चालन भएको बताउनुभयो । उक्त परियोजनाबाट करिब १० हजार जना लाभान्वित भएको पनि सचिवले जानकारी दिनुभयो । साथै उहाँले संस्था स्थापना भएको २९ वर्षमा देशका विभिन्न २८ वटा जिल्लामा संस्थाका विभिन्न कार्यहरु विस्तार भएको समेत जानकारी दिनुभयो ।
ग्रामिण समुदायमा वैकल्पिक ऊर्जा, कृषि, सिचाइँ, शिक्षा, स्वास्थ्य, चेतना विकास, खानेपानी, मानवअधिकार, महिला, बालबालिका, पछाडि पारिएका वर्ग समुदायमा संस्थाले कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिँदै सुन्दर नेपाल संस्था हालसम्म विभिन्न १९ वटा संस्था र सञ्जालमा संस्थागत आवद्धता रहेको समेत जानकारी दिनुभयो ।
करिब साढे आठ करोडको आयव्यय
यसैगरी संस्थाका कोषाध्यक्ष लालबहादुर खत्रीले संस्थाको आव २०८१/०८२ को संस्थागत, कार्यक्रमगत र समष्टीगत आम्दानी र खर्चको प्रस्तुतीकरण गर्नुभयो । जसमा संस्थाले ८ करोड ३२ लाख ५ हजार ६ सय ५१ रुपैयाँ आम्दानी र ८ करोड ३० लाख ८ हजार ९ सय ३७ रुपैयाँ खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यसैगरी २०८२/०८३ को एकीकृत प्रस्तावित आय व्ययमा स्वीकृत कार्यक्रमको आयव्यय तर्फ ९ करोड ५३ लाख १४ हजार ५ सय ४९ रुपैयाँ, प्रस्तावित कार्यक्रम तर्फको आयमा एक करोड ६५ लाख र आन्तरिक कोष तर्फको आयमा एक करोड ४५ लाख ८७ हजार दुई सय रुपैयाँ गरी १२ करोड ६४ लाख एक हजार ७ सय ५० रुपैयाँ प्रस्तुत गर्नुभयो ।
दुईजना सम्मानित
सुन्दर नेपाल संस्थाका प्रशासन तथा लेखा अधिकृत सुशान्त अधिकारी उत्कृष्ट कर्मचारी घोषित हुनुभयो । उहाँलाई दोसल्ला र सम्मान–पत्रसहित संस्थाले सम्मान गरेको छ ।

यसैगरी भर्खरै प्रकाशित भएको एसइइको नतिजामा उत्कृष्ट नतिजा निकाल्न सफल जन उच्च माविका फिजिक्स शिक्षक गजेन्द्र पुनलाई संस्थाले उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको छ । उहाँलाई पनि संस्थाले दोसल्ला र सम्मान–पत्रसहित सम्मान गरेको हो ।

सेवाग्राही सन्तुष्ट
सेवाग्राहीका रुपमा पिपलचौतारी आमा समूहका अध्यक्ष हिरा कंडेलले सुन्दर नेपालका विभिन्न कार्यक्रमबाट सेवाग्राहीहरु सन्तुष्ट रहेको बताउनुभयो । उहाँले पोषण बगैंचा, अर्गानिक हरियो सागपात आदिले आमा र बच्चाको स्वास्थ्यमा भएको सुधारले सुन्दर नेपाललाई कहिल्यै बिर्सन नसकिने बताउनुभयो । उनले आफ्ना भावनालाई गीतमार्फत प्रस्तुत गर्नुभएको थियो ।

सुन्दर नेपाल संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु र सदस्यहरु गरी ८८ जना सदस्य रहेको संस्थाको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष मायाकुमारी सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कंडेलले गर्नुभएको थियो ।
