होमपेज / समाज
काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको संरक्षण गर्ने तरिकाले मनाउनुपर्ने भनी जानकारी दिइन् । प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले हिजोको पुस्ताले तीज पर्वका अवसरमा विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको र अहिलेको पुस्ताले यस्को मौलिकपनको संरक्षण गरेर मनाउनुपर्ने बताएका हुन् ।
“हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्नका लागि तीज पर्व मनायो” पूर्वमन्त्री समेत रहेकी नेतृ अर्यालले भनिन्,“नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।” सचिव अर्यालले तीज पहिलाको घरमा पाएका पीडा र वेदनमा माइतीमा आएर साथीसंगीसँग मिलेर गीतमार्फत आफ्नो पीडा पोख्ने माध्यमका रुपमा विकास भएको हुनाले तीज पर्व आँशु, खुशी र इतिकासको पर्व भएको बताइन् ।
एमालेका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीज दिदीबहिनी, साथीहरुसँग भेटघाट गरी दुःख-सुख साट्ने पर्वको रुपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले व्यवसायिक पत्रकारिताको विषयमा छलफल गर्ने र आपसका दुःखसुख साट्ने पर्व भएको बताइन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधै काममा व्यक्त रहने महिला पत्रकारहरुले एकदिन भएपनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यमका रुपमा तीज मिलन कार्यक्रमको आयोजना गरिएको बताए । पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वका अवसरमा छलफल गर्न सकिने र भेटघाट, खुशी र उत्साहका रुपमा तीज पर्व मनाउनुपर्ने भनाई राखिन् । कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।