ट्रेण्डिङ

होमपेज / समाज

विद्युत् प्राधिकरणले बढायो पोल र ओपीजीडब्लू फाइबरको भाडा

नेपालगाथा २०८२ भाद्र ४ गते बुधबार १३:२८:०१ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र ओपीजीडब्लू फाइबरको भाडा बढाएको छ । इन्टरनेट सेवा प्रदायकहरूसँग भएको सम्झौता अनुसार प्राधिकरणले भाडादरमा ५.८५ प्रतिशतले वृद्धि गरेको ५।

प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूबिच भएको सम्झौतामा प्रत्येक पाँच वर्षमा भाडादर समायोजन गर्ने उल्लेख गरेकाे छ । सम्झौताको दफा ५ को उपदफा २ अनुसार भाडादर पाँच प्रतिशत वा नेपाल राष्ट्र बैंकको विगत पाँच वर्षको औसत वार्षिक मूल्यवृद्धि दरमध्ये जुन बढी हुन्छ, त्यहीअनुसार वृद्धि हुने उल्लेख रहेकाे छ । प्राधिकरणले राष्ट्र बैंकको औसत मूल्यवृद्धि दर ५.८५ प्रतिशत कायम भएकाले सोहीअनुसार भाडा बढाएको बताएकाे छ ।

भाडा वृद्धिपछि अब फाइबरको प्रतिकोर प्रतिकिलोमिटर प्रतिवर्ष ३३ हजार ८७२ रुपैयाँ पुगेको छ । त्यस्तै, प्राधिकरणको परिसरमा नोड प्वाइन्टका लागि उपकरण जडान गरेबापत प्रतिवर्ष एक लाख ६० हजार ४६ रुपैयाँ भाडा तोकिएको छ । यससँगै फाइबरको प्रतिकोर प्रतिकिलोमिटर प्रतिवर्षको भाडा एक हजार ९८२ रुपैयाँले बढेको छ भने नोड प्वाइन्टका लागि उपकरण जडान गरेबापतको भाडा प्रतिवर्ष नौ हजार ३६३ रुपैयाँले बढेको छ ।

प्राधिकरणको प्रसारण निर्देशनालयअन्तर्गत विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोषले हस्ताक्षर गरेको भाडा वृद्धिसम्बन्धी पत्र मंगलबार दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पठाएका हुन् । प्राधिकरणले साउन ३० गते नै भाडा बढाउने निर्णय गरेको थियो, जसअनुसार आइतबारबाटै नयाँ भाडादर लागु भएको छ ।

लामो समयदेखि विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूबिच भाडादरलाई लिएर विवाद चल्दै आएको छ । सेवा प्रदायकहरूले प्राधिकरणले लिने भाडादर महँगो भएको गुनासो गर्दै आएका छन् । पूर्वाधारको लागत बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने भएकाले इन्टरनेटको शुल्क बढ्नसक्ने विश्लेषण गरिएको छ । तर पछिल्लो समय सेवाप्रदायकबिच सस्तो मूल्यमा उच्च स्पिडको प्याकेज दिने प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top